दाङ। उच्च अदालत तुलसीपुरले हनुमान फिक्स चिम्नी इँटा उद्योगलाई कुनै अवरोध नगर्न विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको छ। उच्च अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइराला र न्यायाधीश नरबहादुर खड्काको संयुक्त इजलासले घरेलु तथा साना उद्योग कार्यालय दाङ र दाङ देउखुरी इँटा व्यवसायी संघका नाममा आइतबार आदेश जारी गरेको हो।
हनुमान इँटा उद्योगले स्वीकृत प्राप्त प्रविधि अनुसार इँटा पोल्ने कार्य गरिरहेको अवस्थामा घरेलु उद्योग कार्यालय दाङले २ पुसमा उद्योग बन्द गर्नका लागि पत्र काटेको थियो। यसपछि उद्योगका तर्फबाट मनकुमारी घर्तीले उच्च अदालतमा रिट दायर गर्दै उद्योगको कार्यमा कुनै पनि प्रकारको अवरोध नगर्न माग गरेकी थिइन्।
उच्च अदालतले यसबारे अन्तरिम आदेश जारी गर्दै इँटा पोल्ने कार्यमा कुनै रोक नलगाउन निर्देशन दिएको छ। अदालतको आदेशमा भनिएको छ, “स्वीकृत उद्योगलाई इँटा पोल्ने कार्यमा कुनै अवरोध नगरियोस्।”
यस प्रकरणको सुनुवाइमा वरिष्ठ अधिवक्ता ईश्वरीप्रसाद भट्टराई, मोहनप्रसाद धिताल र रामशरण चौधरी उद्योगको पक्षमा र लुम्बिनी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयका सहायक न्यायधिवक्ता इन्दु बस्याल र अधिवक्ता सञ्जयकुमार केसी विपक्षको तर्फबाट बहस गरेका थिए।
उच्च अदालतले थप आदेश जारी गर्दै दाङ देउखुरी इँटा व्यवसायी संघको रिट निवेदनलाई खारेज गर्दै कुनै अपूरणीय क्षति नहुने निर्णय पनि गरेको छ।






























