पोखरा, १२ माघ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पाँचौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्बा गुरुङले प्रतियोगिताको उद्घाटन गरे। १२ माघदेखि १९ माघसम्म चल्ने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ ६–६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।
महिलातर्फ थाइल्याण्डको ट्राभल इन्क्वायरी युनाइटेड प्यासन भलिबल क्लब, टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब र आयोजक टाइगर ग्रुप सहभागी छन्। पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब कुरुक्षेत्र, हेल्प नेपाल स्पोर्ट्स क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले भाग लिएका छन्।
प्रतियोगिताको पहिलो दिन महिलातर्फ तीन खेल सम्पन्न भए। दिनको अन्तिम खेल भने लाइट प्रोटेस्टका कारण स्थगित गरिएको थियो। आयोजक टाइगर ग्रुप र त्रिभुवन आर्मी क्लबबीचको खेलमा पहिलो सेट २५–२३ ले आर्मीको पक्षमा गएको थियो। दोस्रो सेट पनि आर्मीले २५–२२ ले जित्दा आयोजकले तेस्रो सेट २५–२१ मा आफ्नो पक्षमा पार्न सफल भयो। यद्यपि, प्रकाश समस्याका कारण खेल स्थगित गरिएको रेफ्री टहलसिंह थापाले जानकारी दिए।
महिला तर्फ नेपाल एपीएफ क्लबले थाइल्याण्डको युनाइटेड प्यासन क्लबलाई पुनरागमन गर्दै ३–२ को रोमाञ्चक जित निकालेको थियो। सुरुका दुई सेट गुमाएको एपीएफले तेस्रो सेट २५–१९, चौथो सेट २५–२०, र अन्तिम निर्णायक सेट १५–७ ले जित्दै प्रभावशाली प्रदर्शन गर्यो। अर्को खेलमा टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई पनि ३–२ को सेटमा हराएको थियो।
पुरुष र महिलातर्फ दुवै विजेता टोलीले ५ लाख ८५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। उपविजेताले २ लाख ८५ हजार र तेस्रो हुने टोलीले १ लाख ८५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताका संयोजक रामकृष्ण ज्ञवालीका अनुसार, सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
टाइगर ग्रुपले यसपटक महिलातर्फ पहिलोपटक टिम मैदानमा उतारेको प्रचार संयोजक इन्द्रप्रसाद पौडेलले जानकारी दिए। राष्ट्रिय र अन्तर्राष्ट्रिय टोलीको सहभागिताले प्रतियोगिताले नेपाली भलिबलको स्तरलाई उचाइमा पु-याउने अपेक्षा गरिएको छ।

































