पोखरा, २० माघ । अमेरिकी सरकारले क्यानडा, मेक्सिको र चीनबाट आयात गरिने सामानमा अतिरिक्त कर लगाउने निर्णय लागू गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयअनुसार क्यानडा र मेक्सिकोका सामानमा २५ प्रतिशत तथा चिनियाँ सामानमा १० प्रतिशत अतिरिक्त शुल्क लाग्नेछ।
विशेषगरी क्यानडाबाट आयात हुने ऊर्जामा १० प्रतिशत कर लगाइने उल्लेख गरिएको छ। चिनियाँ तथा क्यानडाली सामानमा लाग्ने अतिरिक्त करको निर्णय मङ्गलबार रातिदेखि लागू हुनेछ भने मेक्सिकोबाट आयात हुने सामानमाथि लाग्ने करको लागू हुने मिति भने अझै तोकिएको छैन।
मेक्सिकोकी राष्ट्रपति क्लाउडियो सियानबमले आफ्नो देशले अमेरिकाको निर्णय स्वीकार गरिसकेको बताएकी छिन्। उनले यस कदमले व्यापार सन्तुलन कायम गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेकी छिन्।
ट्रम्पको यो निर्णयको अमेरिका भित्र र बाहिर तीव्र आलोचना भएको छ। नेसनल एसोसिएसन अफ होम विल्डर्सले विज्ञप्ति जारी गर्दै क्यानडा र मेक्सिकोबाट आउने कच्चा पदार्थमा कर लगाइँदा घर निर्माणको लागत बढ्ने बताएको छ। स्टिल वर्कर, डिस्टिलरी कम्पनी तथा फुटवेयर उद्योगसँग सम्बन्धित व्यवसायीहरूले पनि आफ्नो उत्पादन महँगो हुने गुनासो गरेका छन्।
यस्तै, अमेरिकी कृषक समूहहरूले पनि यो कदमको आलोचना गर्दै यसले कृषि उत्पादनको लागत बढाउने र निर्यातलाई असर पार्ने बताएका छन्। अमेरिकी व्यवसायीहरू तथा व्यापार संगठनहरूले ट्रम्प प्रशासनलाई यो निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।




























