पोखरा, २७ माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय खारेज गर्नुपर्ने सुझाव दिएका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेललाई मन्त्री देवेन्द्र दाहालले कडा प्रतिक्रिया दिएका छन्। आइतबार मन्त्री दाहालको सचिवालयद्वारा जारी विज्ञप्तिमा मन्त्रालय खारेजीको बहसलाई ‘व्यर्थ र औचित्यहीन’ भन्दै खण्डन गरिएको छ।
मन्त्री दाहालले विज्ञ मानिएका व्यक्तिमार्फत यस्तो धारणा आउँदा आफू छक्क परेको बताएका छन्। ‘नेपालको भौतिक पूर्वाधार मन्त्रालय नै खारेज गरौँ भन्ने कुरा आउँदा मलाई अरू कुराभन्दा पनि यस्ता मान्छे पनि नेपालको थिंक ट्यांक संस्थामा नेतृत्व गर्न पुगेछन् भन्ने कुरामा पो चिन्ता लाग्यो,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।
यसअघि माघ २४ गते अर्थशास्त्रीसमेत रहेका पौडेलले सामाजिक सञ्जालमार्फत अमेरिकाले यूएसएआईडी खारेज गरेजस्तै नेपालले पनि भौतिक पूर्वाधार मन्त्रालय खारेज गर्नुपर्ने धारणा राखेका थिए। उनले नेपालमा ऊर्जा मन्त्रालयले जस्तो प्रगति सडक क्षेत्रमा नभएको उल्लेख गर्दै यो अवस्था परिवर्तन गर्न मन्त्रालय खारेज गर्नुपर्ने प्रस्ताव गरेका थिए।
पौडेलको उक्त प्रस्तावप्रति चासो बढेपछि मन्त्री दाहालले प्रतिउत्तर दिएका हुन्। उनले भौतिक पूर्वाधार मन्त्रालयको अस्तित्व नेपालमा अनिवार्य रहेको जिकिर गर्दै यसबारे अनावश्यक बहस गर्नु उपयुक्त नहुने धारणा राखेका छन्।




























