पोखरा, २ फागुन। नेपाली लोकरक ब्यान्ड नेपथ्यले आगामी मार्च महिनामा अस्ट्रेलियाको सात सहरमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएको छ। यो २०२५ मा ब्यान्डको पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो, जसमा एक महिनासम्म विभिन्न सहरमा कार्यक्रम आयोजना हुनेछ।
नेपथ्यको यात्रा मार्च ३ तारिख संघीय राजधानी क्यानबेराबाट सुरु हुनेछ। त्यसपछि ब्यान्डले मार्च ९ मा पर्थ, मार्च १४ मा ब्रिसबेन, मार्च १८ मा होबार्ट, मार्च २१ मा एडिलेड, मार्च २४ मा मेलबर्न र अन्त्यमा मार्च २९ मा सिड्नीमा आफ्नो सांगीतिक प्रस्तुति दिनेछ।
नेपथ्यका मुख्य गायक अमृत गुरुङले अस्ट्रेलियालाई ब्यान्डका लागि विशेष स्थान रहेको बताए। उनले त्यहाँका दर्शकहरूको माया हरेक यात्रामा अविस्मरणीय रहने उल्लेख गरे। यसपटकको कार्यक्रमलाई थप विशेष बनाउन ब्यान्डले फरक गीतहरूको छनोट गरेको गुरुङले जानकारी दिए।
नेपथ्यको व्यवस्थापन नेपालयले सम्हाल्नेछ, जसले ब्यान्डसँग २५ औं वर्ष पूरा गरेको छ। हालसम्म नेपथ्यले १७ देशका ४६ सहरमा ८८ पटक आफूलाई प्रस्तुत गरिसकेको छ। अस्ट्रेलियामा नेपाली संगीतप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको र त्यसलाई अझ विस्तारित गर्दै लैजाने नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठले बताए।






























