पोखरा, ४ फागुन । युकेएफसीले राष्ट्रिय जागृति क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै १५औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेन्टस इटहरी गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा स्थान पाएको छ । इटहरी रङ्गशालामा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा युकेएफसी र राष्ट्रिय जागृति क्लब भिडेका थिए । खेलको ११औँ मिनेटमा जागृति क्लबका एलेक्सले गोल गर्दै अग्रता दिलाएका थिए । उनले उमेश कार्कीको कर्नरमा प्रहार गरेको बललाई हेड मार्फत गोल गर्न सफल भएका थिए ।

युकेएफसीले खेलको २१औँ मिनेटमा सत्यम शर्माको फ्री किकबाट गोल गर्दै खेल बराबरी गर्यो । खेलको ५५औँ मिनेटमा युकेएफसीका हेमराज भुजेलले निर्णायक गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए ।

आजको खेलको ‘म्यान अफ दी म्याच’ युकेएफसीका सत्यम शर्मा घोषित भए र उनले रु १० हजार पुरस्कार प्राप्त गरे । प्रतियोगिता १० गतेसम्म सञ्चालन हुनेछ, जसमा आठ टोली सहभागी छन् । आगामी आइतबार दोस्रो क्वाटरफाइनल खेल बुढासुब्बा गोल्डकप च्याम्पियन न्युरोड टिम र सगरमाथा युथ क्लब मोरङबीच हुनेछ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले रु ५ लाख पुरस्कार प्राप्त गर्नेछन् ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0