पोखरा, ४ फागुन। नेपालमा साइबर अपराधका घटनाहरू तीव्र रूपमा बढिरहेका छन्, जसमा विदेशी नागरिकको संलग्नता उल्लेखनीय देखिएको छ। पछिल्लो समय विशेष गरी भारतीय नागरिकहरूको अनलाइन ठगी, जुवा तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्नता बढ्दै गएको देखिएको छ।

बिबिसीका अनुसार, केही समयअघि बूढानीलकण्ठमा प्रहरीले छापा मार्दा २३ जना भारतीय नागरिक पक्राउ परेका थिए। उनीहरूले नेपालमै घर भाडामा लिएर ‘लोटस३६५’ अनलाइन जुवा सञ्चालन गरिरहेका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले तीन अर्ब रुपैयाँभन्दा बढीको अनलाइन जुवा खेलाएको र ४६ करोड रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको खुलेको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार अनलाइन ठगीका घटनाहरू दिन प्रतिदिन बढ्दै गएका छन्। गत आर्थिक वर्षमा १९,७३० साइबर अपराधका उजुरी परेका थिए भने यो आर्थिक वर्षको पहिलो छ महिनामै १०,७०० उजुरी दर्ता भइसकेका छन्। अनलाइन जुवा तथा क्रिप्टोकरेन्सी कारोबारलाई अवैध मानिए पनि नेपालमा सामाजिक सञ्जालमार्फत ठगी गर्ने क्रम बढ्दो छ।

बिबिसीका अनुसार, अपराधीहरूले सामाजिक सञ्जाल, टेलिग्राम, तथा विभिन्न अनलाइन माध्यम प्रयोग गरी नेपाली नागरिकहरूलाई लोभ्याउने गर्छन्। कहिलेकाहीँ सस्तो घर भाडामा दिने, चिट्ठा परेकाे बताउने, अनलाइन किनमेलका बहानामा ठग्ने जस्ता घटनाहरू दोहोरिरहेका छन्। केही पीडितले जागिरको नाममा ठूलो रकम गुमाएका छन् भने कतिपयले व्यक्तिगत विवरण दिएर साइबर अपराधीको निशानामा परेका छन्।

साइबर अपराधमा संलग्न व्यक्तिहरू पहिचान गर्न कठिन भइरहेकाे प्रहरी अधिकारीहरूले बताएका छन्। ठगी गर्नेहरूले विभिन्न एपहरू प्रयोग गर्ने भएकाले उनीहरूलाई ट्रयाक गर्न कठिन भएको छ। प्रहरीका अनुसार, अपराधीहरूले अनलाइन ठगीबाट हात लागेको रकम विभिन्न खाताहरूमा लगानी गरी कानुनी छानबिनलाई जटिल बनाउने गरेका छन्।

नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरूका अनुसार, ठगीमा परेका व्यक्तिहरूले प्रहरीलाई उजुरी नगर्दा अनुसन्धान थप जटिल बन्दै गएको छ। विशेष गरी सामाजिक सञ्जालमा आउने आकर्षक विज्ञापनहरू, अनलाइनमार्फत घरमै बसेर सजिलै पैसा कमाउने अफरहरू, वा अनलाइन शपिङका नाममा हुने ठगीबाट बच्न प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

नेपालमा साइबर अपराध नियन्त्रणका लागि सरकार र सुरक्षा निकायहरूले कठोर कदम चाल्न आवश्यक रहेको विज्ञहरूले बताएका छन्। प्रहरीले अनलाइन ठगीको नयाँ स्वरूपहरूबारे नियमित रूपमा जनचेतनामूलक सूचना सार्वजनिक गर्दै आएको छ। यद्यपि, नागरिक स्वयं सचेत नभएसम्म यस्ता अपराधहरू नियन्त्रण गर्न कठिन हुने विज्ञहरूको ठहर छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0