पोखरा, ५ फागुन। म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक रुबेन अमोरिमले आफ्नो टिमको अवस्था जटिल रहेको बताएका छन्। आइतबार टोटेनहमसँगको १-० को हारपछि उनले आफ्नो जिम्मेवारी कठिन भइरहेको स्वीकारे। खेलमा जेम्स म्याडिसनले १३औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भएको थियो।

युनाइटेड अहिले इंग्लिस प्रिमियर लिगको १५औं स्थानमा रहेको छ। अमोरिमले चोटका कारण १२ जना खेलाडी गुमाउनु परेको हुँदा टिम व्यवस्थापन चुनौतीपूर्ण रहेको बताएका छन्। बिबिसीका अनुसार, उनले टोलीमा युवा खेलाडीहरू समेट्न बाध्य भए पनि उनीहरूलाई खेल्ने अवसर तुरुन्तै नदिने निर्णय गरे।

“मसँग धेरै समस्याहरू छन्,” अमोरिमले स्काई स्पोर्ट्ससँग भने, “मेरो जागिर गाह्रो छ, तर म आफ्ना विश्वासमा अडिग रहँदै आगामी खेलहरू जित्ने प्रयास गर्नेछु।”

युनाइटेडको पछिल्लो प्रदर्शन निराशाजनक रहेको छ। टोलीले लिगमा पछिल्ला १२ खेलमध्ये ८ खेल गुमाइसकेको छ। बिबिसीका अनुसार, गत डिसेम्बर ४ देखि अहिलेसम्म युनाइटेडभन्दा बढी हार बेहोर्ने टिमहरू लिगको पुछारमा रहेका लेस्टर सिटी (९ हार) र साउथह्याम्प्टन (१० हार) मात्र छन्।

टोटेनहमविरुद्धको खेलमा अमोरिमले ९०औं मिनेटसम्म परिवर्तन नगरेको विषयमा पनि बहस भएको छ। उनले अन्तिम समयमा मात्र १७ वर्षीय चिडो ओबिलाई मैदानमा उतारे। “यो संसारकै कठिन प्रतियोगिता हो,” उनले बिबिसीसँग भने, “म युवा खेलाडीहरूलाई बचाउन चाहन्छु।”

पूर्व खेलाडी ग्यारी नेभिलका अनुसार, अमोरिमको आगमनपछि टिममा सुधारको खासै संकेत देखिएको छैन। “क्लबले धैर्य राख्नुपर्नेछ, तर प्रदर्शन सुधारिएको हेर्न चाहन्छु,” उनले स्काई स्पोर्ट्ससँग भने।

युनाइटेडका समर्थकहरू निराश छन्। पूर्व खेलाडी जेमी रेडनापका अनुसार, “युनाइटेडसँग शीर्ष स्तरका खेलाडीहरू कम छन्। क्लब यति ठूलो हुँदा समय र धैर्य माग्न कठिन हुन्छ।”

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0