पोखरा, ८ फागुन। स्टार स्ट्राइकर किलियन एमबापेले ह्याट्रिक गरेपछि रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। बुधबार राति भएको प्लेअफको दोस्रो लेगमा म्यान्चेस्टर सिटीलाई ३-१ ले पराजित गर्दै समग्रमा ६-३ को नतिजाले रियलले अगाडि बढ्ने अवसर पाएको हो।
रियलको घरेलु मैदानमा खेलको चौथो मिनेटमै एमबापेले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि उनले ३३औं र दोस्रो हाफको ६१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। इन्जुरी समयमा सिटीका निकोलस गोन्जालेजले सान्त्वना गोल फर्काए।
पहिलो लेगमा पनि रियल मड्रिडले ३-२ को जित निकालेको थियो। यसपटकको च्याम्पियन्स लिग फरक फर्म्याटमा हुँदा दुवै टोली शीर्ष ८ मा नपर्दा प्लेअफ खेल्नुपरेको थियो। प्लेअफमा नै दुई बलिया टोली आमनेसामने हुँदा खेल प्रतिस्पर्धात्मक बनेको थियो। हारसँगै सिटी प्रतियोगिताबाट बाहिरिएको छ।






























