पोखरा, १५ फागुन। संयुक्त अरब इमिरेट्स (यूएई) मा करिब ६ लाख नेपाली श्रमिक कार्यरत रहेको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ। यूएई आउने नेपाली कामदारको सङ्ख्या निरन्तर बढ्दै गइरहेका बेला उनीहरूको सेवा तथा सुरक्षाका लागि घुम्ती शिविर सञ्चालन गरिने भएको छ।

यसै क्रममा, नेपाली दूतावास, नेपाली समाज यूएई र गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईको संयुक्त सहकार्यमा फुजैराह इमिरेट्समा श्रमिक सचेतना तथा राहदानी नवीकरण शिविर सम्पन्न गरिएको छ। अबुधाबीबाट करिब ३ सय किलोमिटर टाढा आयोजित उक्त शिविरमा ३ सयभन्दा बढी नेपाली श्रमिकलाई श्रम कानुन तथा वित्तीय साक्षरतासम्बन्धी अद्यावधिक जानकारी प्रदान गरिएको थियो।

शिविरमा नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्धता, औपचारिक माध्यमबाट विप्रेषण पठाउँदा प्राप्त हुने सुविधाहरू, पुनः श्रम स्वीकृतिसम्बन्धी नयाँ व्यवस्थाहरू र वित्तीय साक्षरता विषयमा सचेतनामूलक जानकारी दिइएको थियो। सोही अवसरमा २१६ जना नेपालीको राहदानी नवीकरण प्रक्रिया पूरा गरिएको दूतावासले जनाएको छ।

यूएईस्थित नेपाली दूतावासले यसअघि पनि विभिन्न इमिरेट्समा यस्ता घुम्ती शिविर सञ्चालन गर्दै आएको छ। दूतावासले विशेषतः राहदानी म्याद सकिएका, हराएका वा भिसा समस्यामा परेका नेपालीहरूका लागि राहदानी नवीकरण प्रक्रियालाई सरल, सहज र छिटोछरितो बनाउन निरन्तर काम गरिरहेको जनाएको छ।

भविष्यमा आयोजना गरिने यस्ता कार्यक्रमहरूमा यूएईका सम्पूर्ण नेपाली संघ–संस्था तथा नेपाली समुदायको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0