पोखरा, १५ फागुन। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच युक्रेनको खनिज स्रोत अमेरिकासँग बाँडफाँट गर्ने सम्झौताका लागि छलफल हुँदैछ। वाशिङ्टनमा हुने बैठकमा उक्त सम्झौतामा हस्ताक्षर हुन सक्ने बताइएको छ।
बिबिसीका अनुसार जेलेन्स्कीले यस सम्झौताले युक्रेनको आर्थिक पुनर्निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। यसलाई प्रारम्भिक द्विपक्षीय सम्झौताका रूपमा व्याख्या गर्दै उनले सुरक्षा सुनिश्चितताको विषयलाई प्राथमिकता दिने बताएका छन्। तर, ट्रम्पले अमेरिकाले युक्रेनलाई पूर्ण सुरक्षा प्रत्याभूति नदिने स्पष्ट पार्दै त्यो जिम्मेवारी मुख्यत: युरोपेली राष्ट्रहरूको हुने बताएका छन्।
ट्रम्पले युक्रेनी भूमिमा अमेरिकी कामदारहरू खनिज उत्खननमा संलग्न भएमा त्यसले युक्रेनलाई स्वतः सुरक्षा प्रदान गर्ने तर्क गरेका छन्। उनले युक्रेनलाई नेटो सदस्य बनाउने सम्भावना पनि अस्वीकार गर्दै उक्त चाहना नै युद्ध सुरु हुनुको कारण भएको रुसी दाबी दोहोर्याएका छन्।
बिबिसीका अनुसार युक्रेनी प्रधानमन्त्रीले उक्त सम्झौताअन्तर्गत युक्रेनको पुनर्निर्माणका लागि “लगानी कोष”को परिकल्पना गरिएको बताएका छन्। युक्रेनसँग लिथिअम, टाइटानिअम, कोइला, ग्यास, तेल तथा युरेनियमजस्ता मूल्यवान् खनिजको विशाल भण्डार रहेको छ, जसले पश्चिमा कम्पनीहरूको चासो बढाएको छ।
गत साता मात्रै ट्रम्पले जेलेन्स्कीलाई “निरङ्कुश”को संज्ञा दिँदै युक्रेनलाई रुसी दुष्प्रचारबाट प्रभावित भएको आरोप लगाएका थिए। जेलेन्स्कीले भने युक्रेनलाई प्राप्त सैन्य तथा आर्थिक सहयोग न्यून रहेको भन्दै अमेरिकाले दाबी गरेभन्दा कम मात्र सहयोग प्राप्त भएको बताएका छन्।
अमेरिका र रुसबीच पछिल्लो समय वार्ता बढ्दै गएको सन्दर्भमा युक्रेन र उसका युरोपेली सहयोगी राष्ट्रहरू सजग देखिएका छन्। बिबिसीका अनुसार साउदी अरबमा हालै सम्पन्न अमेरिका-रुस प्रत्यक्ष वार्तामा युक्रेनलाई नबोलाइएकामा जेलेन्स्कीले असन्तुष्टि व्यक्त गरेका छन्।




























