पोखरा, १७ फागुन। शाओमी १५ अल्ट्रा चीनमा लन्च हुने मिति नजिकिँदै गर्दा कम्पनीले यस स्मार्टफोनको आधिकारिक तस्बिरहरू सार्वजनिक गरेको छ। सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरूले फ्यानहरूमा उत्साह थप बढाएको छ। शाओमी १५ अल्ट्रा तीन फरक रङ विकल्पहरूमा उपलब्ध हुनेछ भने यसको नयाँ क्यामरा प्रणालीले विशेष ध्यान खिचेको छ।
शाओमी १५ अल्ट्रामा २०० मेगापिक्सेलको टेलिफोटो लेन्स रहनेछ, जसमा सामसङ आईएसओसेल एचपी९ सेन्सर (१/१.४ इन्च) समावेश हुनेछ। यो लेन्स २०० एमएम र ४०० एमएम सम्मको स्पष्ट जुम गर्न सक्षम रहने बताइएको छ। लामो दूरीको फोटोग्राफीमा आउने चुनौतीलाई सम्बोधन गर्न शाओमीले २४-लेयर अल्ट्रा-लो रिफ्लेक्शन ग्लास प्रयोग गरेको छ, जसले प्रकाश प्रतिबिम्ब १.५ प्रतिशतसम्म घटाउन सहयोग गर्नेछ।
यसका साथै, शाओमी १५ अल्ट्राको मुख्य क्यामरामा १-इन्चको सेन्सर प्रयोग गरिएको छ, जुन यसअघि १२एस अल्ट्रा मोडेलमा पनि प्रयोग गरिएको थियो। कम्पनीले नयाँ प्रविधि र क्यामरा सुधारका साथ यस फोनलाई बजारमा उतार्न लागेको छ।
शाओमी १५ अल्ट्रा चीनमा फेब्रुअरी २७ तारिखमा लन्च हुने अपेक्षा गरिएको छ भने यसको विश्वव्यापी सार्वजनिक कार्यक्रम मार्च २ तारिखमा बार्सिलोनामा आयोजना हुने मोबाइल वर्ल्ड कांग्रेस (एमडब्ल्यूसी) २०२५ मा हुने बताइएको छ।




























