पोखरा, २० फागुन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियापछि पार्टीले जनसम्बन्ध मजबुत बनाउन नसक्नु कमजोरी भएको स्वीकार गरेका छन्। टीकापुरमा आयोजित थारूवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारमा रहँदा जातीय मोर्चासँग सम्बन्ध बलियो बनाउन नसकिएको बताए।

प्रचण्डले समाजवादी क्रान्ति सफल बनाउन जातीय मोर्चाहरू आवश्यक रहेको उल्लेख गर्दै अब वर्गीय मुद्दा पुनः उठाउन जनतामाझ आएको बताए। उनले नेपाली कांग्रेस र नेकपा (एमाले) सँग मिलेर कहिल्यै सरकार नबनाउने घोषणा गर्दै माओवादीको सिद्धान्तलाई सशक्त रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।

उनले टीकापुरका नगर प्रमुख तथा माओवादीका पूर्वकार्यकर्ता रामलाल डगौराले स्वागत गरेको उल्लेख गर्दै जेलमा रहेका रेशमलाल चौधरीलाई छुटाउन आफूले धेरै मिहिनेत गरेको बताए। तर, चौधरीको पछाडि लागेर थारू समुदायले राजनीतिक उपलब्धि हासिल गर्न नसक्ने भन्दै त्यस्तो भ्रम त्याग्न आग्रह गरे।

कार्यक्रममा माओवादीका वरिष्ठ नेताहरूले पार्टीका कमजोरीहरूमाथि आत्मसमीक्षा गर्दै संविधानका उपलब्धिहरूको रक्षा गर्नुपर्नेमा जोड दिए। उपमहासचिव वर्षमान पुनले थप अधिकारका लागि समावेशी लोकतन्त्रलाई आधार बनाएर संघर्ष गर्नुपर्ने बताए।

सम्मेलनमा कञ्चनपुरदेखि झापासम्मका २२ जिल्लाका ७५० प्रतिनिधिको सहभागिता रहेको थियो। नेताहरूले थारू समुदायको पहिचानसहितको सङ्घीयता अझै स्थापित नभएकाले निरन्तर संघर्ष आवश्यक रहेको बताए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0