पोखरा, २१ फागुन। संयुक्त राज्य अमेरिकाले “अवैध आप्रवासी” को रूपमा निकाला गरेका नौ नेपाली नेपाल फर्किएका छन्। ती नेपालीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन प्रक्रियापछि प्रहरीको जिम्मा लगाइएको छ। उनीहरू कसरी अमेरिका पुगेका थिए भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।
बुधवार नेपाल आइपुगेका ती नेपालीहरूलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा लैजाने निर्णय गरिएको थियो। बिबिसीका अनुसार, प्रारम्भिक अनुसन्धानमा उनीहरू पर्यटक भिसाको माध्यमबाट मध्यपूर्व हुँदै युरोप, त्यसपछि ब्राजिल र अन्ततः मेक्सिको हुँदै अमेरिका पुगेको पाइएको छ। केहीले हवाइजहाजबाट यात्रा गरेका थिए भने कतिपय सडकमार्गबाट मेक्सिकोको सीमासम्म पुगेका थिए। अमेरिकी सुरक्षा निकायले उनीहरूलाई सीमामा नियन्त्रणमा लिएपछि कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्काएको हो।
मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार, ती नेपालीहरू मानव तस्करी वा ठगीको शिकार भएका हुन् वा होइनन् भन्नेबारे अनुसन्धान भइरहेको छ। प्रहरीले उनीहरूसँग विस्तृत जानकारी लिँदै तस्करीको सम्भावित सञ्जालबारे अनुसन्धान गरिरहेको छ। बिबिसीका अनुसार, प्रारम्भिक बयानमा उनीहरूले अमेरिका पुग्न लाखौँ रुपैयाँ खर्च गरेको बताएका छन्। कतिपयले ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएको बताएका छन्, जसमा यात्रा, खाना, र अन्य खर्च समावेश रहेको अनुमान गरिएको छ।
अमेरिकाबाट निष्काशन भएका नेपालीहरू लुम्बिनी प्रदेशका रुकुम, रोल्पा, दाङका तथा सुदूरपश्चिम प्रदेशका डोटीका हुन्। तीमध्ये एक महिला पनि रहेको बताइएको छ। बिबिसीका अनुसार, उनीहरूलाई अमेरिकाले चार्टर्ड र नियमित उडानमार्फत नेपाल फर्काएको हो।
यसअघि राष्ट्रपति जो बाइडनको कार्यकालमा झन्डै ५,००० नेपालीहरू अवैध रूपमा अमेरिका पुगेका थिए। अमेरिकी तथ्याङ्कअनुसार, आर्थिक वर्ष २०१९ देखि २०२४ सम्म ३८९ नेपाली नागरिकलाई निष्काशन गरिएको छ। अमेरिकाले आप्रवासन कानुन कडा बनाउँदै अवैध आप्रवासीहरूलाई स्वदेश फर्काउने नीति लिएको छ।
बिबिसीका अनुसार, नेपाल फर्काइएका व्यक्तिहरूले दलालहरूलाई ठूलो रकम बुझाएर अमेरिका पुगेको बताइरहेका छन्। तर, उनीहरू तस्करी वा ठगीको शिकार भएका हुन् भन्ने पुष्टि भइसकेको छैन। प्रहरी अनुसन्धानबाट थप विवरण खुल्ने अपेक्षा गरिएको छ।




























