पोखरा, २५ फागुन। २०६५ सालमा गणतन्त्र स्थापनासँगै नारायणहिटी दरबारबाट बाहिरिएका पूर्वराजा ज्ञानेन्द्र शाहको राजनीतिक भूमिका औपचारिक रूपमा समाप्त भइसकेको भए पनि उनका गतिविधिहरू अहिले पनि चर्चामा रहन्छन्। आइतबार पोखराबाट काठमाडौं फर्किने क्रममा उनको समर्थनमा गरिएको भव्य स्वागत तथा शक्ति प्रदर्शनले फेरि नयाँ चर्चा सिर्जना गरेको छ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्म हजारौँ समर्थक सडकमा ओर्लिए। ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारासहित उनीहरू पूर्वराजासँगै पैदल नै निर्मल निवाससम्म पुगे। समर्थकहरूले राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै नाराबाजी गर्दा पूर्वराजा शाह भने गाडीभित्रै उभिएर समर्थकलाई अभिवादन गरिरहेका थिए।
यो प्रदर्शन योजना अनुरूप नै गरिएको शक्ति प्रदर्शन थियो वा संयोगवश बनेको भव्य स्वागत? कतिपय विश्लेषकहरू भन्छन्, यसले पूर्वराजालाई पुनः राजनीतिक मञ्चमा ल्याउने संकेत दिन्छ। तर पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकले यो कुनै आन्दोलन नभएको र मात्र स्वाभाविक स्वागत भएको दाबी गरे।
शक्तिप्रदर्शनको क्रममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको ठूला तस्बिरहरू देखिनु अर्को रोचक पक्ष रह्यो। हिन्दुवादी अभियानमा जोडिएका व्यक्तिहरूले ‘राजतन्त्र पुनःस्थापना गरौं’ भन्ने नारासहित उनको तस्बिर बोकेका थिए।
-1741526319.jpg)
यस कार्यक्रमलाई राप्रपा नेतृत्वले कत्तिको समर्थन गर्यो भन्ने विषयमा पार्टीभित्र विवाद देखियो। अध्यक्ष राजेन्द्र लिङ्देन सुरुमा विमुख देखिए पनि अन्तिम समयमा विमानस्थल पुगे। यसअघि बैंकहरूविरुद्ध अभियान चलाएका दुर्गा प्रसाईं भने पूर्वराजासँगै गाडीमै देखिए।
राजसंस्थाप्रति बढ्दो सहानुभूति, हिन्दुत्वको जोड र वर्तमान राजनीतिक असन्तोषका बीच आइतबारको र्यालीले विभिन्न अर्थ उत्पन्न गरेको छ। तर, पूर्वराजाले स्वयं कुनै राजनीतिक आन्दोलनको नेतृत्व गर्ने कि नगर्ने भन्ने विषयमा स्पष्टता भने देखिएको छैन।
-1741526319.jpg)




























