पोखरा, २८ फागुन। अमेरिका र युक्रेनबीचको पछिल्लो कूटनीतिक छलफलपछि युक्रेनले ३० दिने युद्धविराम प्रस्तावलाई स्वीकार गरेको छ। अमेरिकी पहलमा साउदी अरेबियाको जेद्दाहमा भएको वार्तामा युक्रेनले युद्धविरामलाई स्वीकार गर्ने निर्णय लिएको हो। अब यो सम्झौतालाई अन्तिम रूप दिन रुसलाई मनाउने जिम्मेवारी अमेरिकाको भएको छ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो प्रस्तावलाई सकारात्मक कदमका रूपमा लिँदै आफूहरू पूर्ण रूपमा तयार रहेको बताएका छन्। उनले भने, ‘अब यो युद्ध रोक्ने निर्णय रुसको हातमा छ। मस्कोले सहमति जनाउनेबित्तिकै युद्धविराम तुरुन्तै लागू हुनेछ।’ युद्धविरामको प्रस्ताव अमेरिकी अधिकारीहरूले अगाडि सारेका थिए, जसमा युक्रेन सहमत भए पनि रुसको अडान अझै स्पष्ट भएको छैन।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले युक्रेनी प्रतिनिधिहरूसँग जेद्दाह वार्तामा सहभागिता जनाएका थिए। वार्तामा सैन्य सहायता, खुफिया आदानप्रदान तथा दुर्लभ खनिजको आपूर्तिबारे सहमति भएको बताइएको छ। यद्यपि, कब्जा गरिएको भूभागबारे कुनै सम्झौता हुन नसकेको स्रोतहरूले जनाएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका चार ठूला क्षेत्र— डोनेस्क, लुहान्स्क, खेरसोन र जापोरोजे— आफ्नो नियन्त्रणमा राख्न चाहिरहेका छन्। रुसले युक्रेनको करिब २० प्रतिशत भूभाग कब्जा गरिसकेको छ, जसलाई लिएर युक्रेनी अधिकारीहरू कुनै सम्झौतामा पुग्न इच्छुक देखिएका छैनन्।
युद्धविराम सहमतिलाई स्वागत गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भवतः यसै हप्ता रुसी राष्ट्रपति पुटिनसँग वार्ता गर्ने वाचा गरेका छन्। अमेरिकी विदेशमन्त्री रुबियोले अब निर्णय लिनुपर्ने जिम्मेवारी रुसको भएको बताउँदै भने, ‘हामी आशा गर्छौं कि उनीहरू शान्तिका लागि सहमत हुनेछन्। अब बल उनीहरूको कोर्टमा छ।’
अब अमेरिकाले रसियालाई युद्धविरामका लागि मनाउने प्रयास गर्नेछ भने युक्रेनले अमेरिकासँग सैन्य सहयोग तथा खुफिया सूचना आदानप्रदानलाई निरन्तरता दिनेछ। यो सम्झौताले युद्ध अन्त्यतर्फ महत्वपूर्ण संकेत गरेको विश्लेषकहरू बताउँछन्।




























