पोखरा, २९ फागुन। लगातार गिरावटपछि नेपाली शेयर बजारमा पुनः सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार १७.२८ अंकले बढेसँगै लगानीकर्तामा नयाँ उत्साह देखिएको छ। पछिल्ला १० दिनमा पहिलो पटक बजार हरियाली देखिएको हो।

नेप्से परिसूचक ०.६३ प्रतिशतले बढेर २७३६.४८ विन्दुमा पुगेको छ। फागुन १८ गते ७५.२४ अंकको उल्लेखनीय वृद्धि भए पनि त्यसपछि निरन्तर गिरावट आइरहेको थियो। बुधबारको सुधारपछि बजारमा पुनः स्थिरता आउने अपेक्षा गरिएको छ।

यस दिन ८ अर्ब २३ करोड ५३ लाख ६८ हजार रुपैयाँ बराबरको २ करोड २९ लाख ४१ हजार ३६५ कित्ता शेयर कारोबार भएको छ। कारोबार रकममा समेत सकारात्मक सुधार देखिएको छ, जसले लगानीकर्तालाई थप आशावादी बनाएको छ।

बुधबारको कारोबारमा १४६ कम्पनीका शेयर मूल्य वृद्धि भएका छन् भने ८८ कम्पनीको शेयर मूल्य घटेको छ। यस्तै, १० कम्पनीको शेयर मूल्य स्थिर रह्यो। कुल ३२३ कम्पनीको कारोबार हुँदा ७९ हजार २३६ पटक शेयर किनबेच भएको छ।

लगातारको गिरावटपछि शेयर बजारमा आएको सुधारलाई सकारात्मक संकेतका रूपमा लिइएको छ। विश्लेषकहरूका अनुसार, आगामी दिनमा बजार अझै स्थिर हुँदै जान सक्ने सम्भावना छ। लगानीकर्ताले सन्तुलित रणनीति अपनाए बजारलाई थप बल पुग्ने अनुमान गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0