पोखरा, ११ चैत्र। पोखरामा आगामी १७ चैतदेखि २६ जेठसम्म आयोजना हुने भनिएको ‘ऐतिहासिक श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ’ को विवाद तीन महिनापछि समाधान भएको छ। पोखरा महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयले आठ शर्तसहित पोखरा महानगरपालिका–१७ स्थित श्री सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिरको गुठीको जग्गामा कोटिहोम सञ्चालन गर्न अनुमति दिएको हो।

विवादको शुरुआत फेवाताल किनारको प्रमुख पर्यटकीय स्थल बाराहीघाट र हल्लनचोकस्थित क्याम्पिङ चोकमा आयोजकले कोटिहोम गर्ने तयारी गरेपछि भएको थियो। पोखरा महानगरपालिका उक्त स्थानमा कोटिहोम गर्न नदिने अडानमा थियो, जसले गर्दा विवाद चर्किएको थियो। आयोजकले २३ फागुनमा भूमिपूजन गर्ने प्रयास गर्दा महानगरका प्रहरी र आयोजक पक्ष बीच झडप भएको थियो। यस झडपमा महानगर पक्षका ११ र आयोजक पक्षका ७ जना घाइते भएका थिए।

त्यसपछि २६ फागुनमा जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिका, सुरक्षा निकाय र आयोजक सहितका सरोकारवालाहरूको बैठकले कोटिहोमका लागि उपयुक्त स्थान खोज्ने निर्णय गरेको थियो। सो निर्णयअनुसार, पोखरा–१७ स्थित श्री सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिरको गुठीको जग्गामा कोटिहोम सञ्चालन गर्ने निर्णय भएको हो।

पोखरा महानगरपालिकाले १७ चैतदेखि २६ जेठ ०८२ सम्म कोटिहोम सञ्चालन गर्न अनुमति दिएको जानकारी पोखराका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले दिएका छन्। महानगरपालिकाले यसका लागि आठ सर्तहरू तय गरेको छ। यी सर्तहरूमा वातावरणमा प्रतिकूल प्रभाव नपर्ने गरी कार्यक्रम सञ्चालन गर्न, कार्यक्रममा उत्सर्जित फोहोर आयोजकले व्यवस्थापन गर्न, स्थानीय बासिन्दाको आवतजावतबाट गुनासो नआउन सुनिश्चित गर्न, सूचना, पोस्टर र ब्यानर कार्यक्रम समाप्त भएपछि हटाउन, सवारी आवागमनलाई अवरोध नगर्ने लगायतका सर्तहरू समावेश छन्।

महानगरले आयोजकलाई कार्यक्रम सञ्चालनका लागि कुनै माइकिङ, रोडक्रस स्वागत द्वार निर्माण वा प्रचारप्रसारका लागि सवारी मार्गमा अवरोध गर्ने गतिविधि नगर्न निर्देशन दिएको छ। यसका साथै नेपाल सरकारका कानूनी निषेधित वस्तु र सेवाको प्रचार तथा बिक्री वितरण नगर्न पनि भनिएको छ।

यसअघि, आयोजकले पोखरा महानगरपालिकासँग अनुमति नलिइ कोटिहोममा प्रयोग हुने समिदाका लागि ऐतिहासिक चौतारा र रुखका हाँगा मुठार्ने काम गरेपछि विवाद सुरु भएको थियो। अब, पोखरा महानगरपालिकाले सर्तसहित कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको छ र आयोजक अब यसको तयारीमा जुटेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0