काठमाडौं, १५ चैत्र। काठमाडौंको तीनकुनेमा दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राजावादी आन्दोलनका क्रममा दुईजनाको मृत्यु भएको छ। तीनकुनेस्थित चौरमा भएको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका नाममा प्रदर्शनको क्रममा प्रहरीसँगको झडपमा कीर्तिपुर नगरपालिका-४, गाम्चाका २९ वर्षीय सविन महर्जनले ज्यान गुमाएका छन्।
प्रहरीका अनुसार, झडपका क्रममा उनको छातीमा गोली लागेको थियो। गोली लागेपछि ढलेका उनलाई त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी कक्षमा दिउँसो ३ बजेर ५५ मिनेटमा उपचारका लागि ल्याइएको थियो। तर चिकित्सकले उनलाई अपराह्न ४ बजे मृत घोषणा गरेका छन्। उनका शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम गृहमा राखिएको छ।
यस्तै, राजावादीले आगजनी गरेको तीनकुनेस्थित एक घरमा जलेर एभिन्यूज टेलिभिजनका क्यामेरा म्यान सुरेश रजकको ज्यान गएको छ। उनी आगो लागेका भवनमा जिउँदै जलेर मृत अवस्थामा भेटिएका छन्। रजकको शव नचिनिने अवस्थामा भेटिएको र प्रहरीले घटनास्थलमा मुचुल्का उठाइरहेको जानकारी प्राप्त भएको छ। उनी एभिन्यूज टेलिभिजनका क्यामेरा म्यानका रुपमा कार्यरत रहेको खुलेको छ । तर प्रहरीले औपचारिक रुपमा उनको विस्तृत विवरण खुलाउन मानेको छैन ।


























