पोखरा, २४ चैत्र। एफसी चितवनले इन्जुरी समयमा गरिएको एउटा गल्तीका कारण झापा एफसीविरुद्धको जित गुमाएको छ। आइतबार साँझ दशरथ रंगशालामा भएको खेलमा चितवन र झापाले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन्।

चितवनले खेलको २८ औँ मिनेटमा टोरिक जेब्रिनको क्लोज रेन्ज प्रहारमार्फत अग्रता लिएको थियो। पहिलो हाफमै लिएको अग्रतालाई चितवनले खेलको अन्तिम समयसम्म जोगाइरहे पनि इन्जुरी समयमा गरिएको एक लापरबाहीले टोलीलाई तीन अङ्कबाट वञ्चित गरायो। चितवनका निरज चौधरीले झापाका एरोन थापालाई बक्सभित्र फल गरेपछि पेनाल्टीको निर्णय भएको थियो। झापाका अल्हाजी गेरोले उक्त अवसर गुमाएनन् र गोल गर्दै टोलीलाई हारबाट जोगाए।

झापाले खेलको प्रारम्भदेखि नै आक्रमणको प्रयास गरिरहेको थियो। उसका केही प्रयास पोलमा लागे भने केही चितवनका गोलरक्षकले बचाए। दोस्रो हाफमा चितवनले रक्षात्मक खेल रणनीति अपनाएको थियो। झापाले लगातार दबाब बनाए पनि निर्धारित समयमा गोल गर्न सकेन।

चितवनले यसअघि पोखरा थन्डर्समाथि २-० र बुटवल लुम्बिनीमाथि १-० को जित निकालेको थियो। बराबरीसँगै चितवनले ३ खेलबाट ७ अङ्क जोडेको छ। उता, प्रतियोगितामा पहिलोपटक गोल गर्न सफल झापाले भने लगातार तेस्रो बराबरी खेल्दै ३ अङ्क बनाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0