पोखरा, २५ चैत्र। मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरामा जारी दोस्रो केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिइसी काठमाडौँले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। समूह ‘ए’ अन्तर्गत सम्पन्न तेस्रो दिनको खेलमा काठमाडौँले पोखरा महानगरपालिका क्रिकेट क्लबलाई ९ विकेटले पराजित गर्दै लगातार तीन खेलमा जित हात पार्दै समूह विजेता बन्न सफल भयो।
पोखराले दिएको ५४ रनको सामान्य लक्ष्य काठमाडौँले केवल ४.२ ओभरमै एक विकेटको क्षतिमा पार गर्यो। कप्तान रित गौतमले आक्रामक ब्याटिङ गर्दै १५ बलमा ३ छक्का र ४ चौकासहित ३६ रनको योगदान दिए। यस्तै, दिपेन्द्र रावतले ८ बलमा २ छक्का र १ चौका सहित १९ रन बनाए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पोखरा टोली १७.२ ओभरमा जम्मा ५३ रनमै अलआउट भयो। पोखराका अधिकांश ब्याट्सम्यान दोहोरो अंकमा समेत पुग्न नसक्दा काठमाडौँका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे। म्यान अफ द म्याच घोषित दिपेन्द्र रावतले ८ रन दिएर ३ विकेट लिए भने युनिश विक्रम सिंह ठकुरीले पनि ३.२ ओभरमा ३ विकेट झार्न सफल भए। अन्य बलरहरु सूर्य तामाङ, मनोज यादव र अशोक बोहोराले पनि विकेट हात पार्दै पोखराको पारी धराशायी बनाए।
सोही दिनको दोस्रो खेलमा हेटौडा स्पोर्ट्स एकेडेमीले स्याङ्जा क्रिकेट क्लबलाई ५ विकेटले हराउँदै सम्मानजनक जित निकालेको छ। १७७ रनको लक्ष्य पछ्याउने क्रममा हेटौडाले १८.४ ओभरमा लक्ष्य पूरा गर्यो। अकिलेश ठाकुरले विस्फोटक ब्याटिङ गर्दै २७ बलमा ५२ रनको अविजित अर्धशतकीय पारी खेले। सुभ कंशाकरले २० बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ४२ रन बनाउँदा युविन बुढाथोकीले ३० रन जोडे।
यसअघि ब्याटिङ गरेको स्याङ्जा टोली १९.५ ओभरमा १७६ रनमा अलआउट भयो। सन्दिप क्षेत्रीले ७० रन र अस्विनी रानाले ४३ रन बनाए। हेटौडाका असिम श्रेष्ठले सर्वाधिक ५ विकेट लिँदै स्याङ्जाको पारी सम्हाल्न दिएनन्।
प्रतियोगिताको चौथो दिन समूह ‘बि’ तर्फ ग्रेट हिमालय क्रिकेट एकेडेमी र हिमालयन क्रिकेट एकेडेमीबीच पहिलो तथा गण्डकी हिरोज र चितवन क्रिकेट क्लबबीच दोस्रो खेल हुने कार्यक्रम रहेको छ।

































