पोखरा, ६ वैशाख। आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र अफगानिस्तानबीचको महत्वपूर्ण तथा निर्णायक खेल आज तल्लो मुलपानी क्रिकेट मैदानमा हुँदैछ। बिहान साढे ९ बजे सुरु हुने खेलको विजेता टोलीले आगामी वर्ष जिम्बाबे र नामिबियामा आयोजना हुने यू–१९ विश्वकपमा स्थान सुरक्षित गर्नेछ।
समूह चरणमा दुबै टोलीले ओमान, हङकङ र यूएईमाथि सहज जित दर्ता गरेका थिए। तीनै खेल जितेका नेपाल र अफगानिस्तान समान ६ अङ्कका साथ शीर्ष स्थानमा रहे पनि नेट रनरेटका आधारमा अफगानिस्तान अगाडि छ। नेपालले यूएईलाई ५ रनले पराजित गरे पनि अफगानिस्तानले यूएईमाथि १८० रनको फराकिलो जित निकालेको थियो।
यसअघि सन् २०२४ मा भएको यू–१९ विश्वकपमा समूह चरणमै नेपालसँग पराजित भएपछि अफगानिस्तान छनोट प्रतियोगिता खेल्न बाध्य भएको हो। यही कारण आजको खेल अफगानिस्तानका लागि पुनःस्थापना गर्ने मौका हो भने नेपालका लागि लगातार दोस्रो संस्करण विश्वकपमा स्थान बनाउने अवसर हो।
छनोट अघि नेपालले अफगानिस्तानसँग तिन खेलको अभ्यास शृंखला खेलेको थियो, जहाँ पहिलो खेल गुमाएको नेपालले दोस्रो खेलमा प्रतिस्पर्धा गर्दै तेस्रो खेलमा उत्कृष्ट बलिङ प्रदर्शनसहित जित हात पारेको थियो। आजको खेलमा पनि नेपाल घरेलु मैदान र दर्शकको समर्थनको फाइदा उठाउँदै अफगानिस्तानमाथि दबाब सिर्जना गर्न प्रयास गर्नेछ।
दुबै टोलीका लागि आजको प्रतिस्पर्धा विश्वकप पुग्ने सपना साकार पार्ने अन्तिम मौका भएकाले खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।































