पोखरा, १३ वैशाख। कोशी प्रदेश सरकारले पहिलोपटक आयोजना गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गर्दै सात वटा कानुन संशोधनको तयारी गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशद्वारा विराटनगरमा आयोजित “आर्थिक अवस्था, लगानीका सम्भावना र चुनौती” विषयक अन्तरसंवाद कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस्तो जानकारी दिएका हुन्।
मुख्यमन्त्री कार्कीले संघीयता कार्यान्वयनपछि प्रदेश तहबाट हुन लागेको यो पहिलो लगानी सम्मेलन भएको दाबी गरे। उनले लगानीकर्ताको अधिकारको संरक्षण र सहजीकरणका लागि कानुनी अवरोध हटाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। असार मसान्तभित्रै प्रदेश मातहतका सेवाहरू एकद्वार प्रणालीमार्फत प्रदान गर्न प्रक्रिया अघि बढाइएको जानकारी पनि उनले दिए। उनका अनुसार एकद्वार प्रणालीले सेवाग्राहीलाई एउटै कामका लागि अनेक निकाय धाउनु पर्ने बाध्यता अन्त्य गर्नेछ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई प्रोत्साहन नगरी आर्थिक समृद्धि सम्भव नभएको बताए। उनले पाथिभरा केबलकार विवाद समाधानका लागि छलफलमा तयार रहेको जनाउँदै धर्म, संस्कृति र पहिचानलाई सम्मान गरेर निर्माण कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
कोशी प्रदेश महासंघका अध्यक्ष राजेन्द्र राउतले प्रदेशमा पर्याप्त लगानी सम्भावना रहेकाले सम्मेलनलाई सफल बनाउन निजी क्षेत्रले पूर्ण साथ दिने बताए। कार्यक्रममा अर्थ विज्ञ भेषराज पौडेलले प्रदेशको आर्थिक अवस्था, लगानीका अवसर र चुनौतीहरूबारे कार्यपत्र प्रस्तुत गरेका थिए।































