पोखरा, १९ वैशाख। लगातार छैटौँ जित दर्ता गर्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार जयपुरमा सम्पन्न खेलमा मुम्बईले घरेलु टिम राजस्थान रोयल्सलाई एकतर्फी रूपमा १०० रनले पराजित गर्‍यो। सन् २०१२ पछि जयपुरमा मुम्बईले पहिलो पटक जित निकालेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा मात्र दुई विकेटको क्षतिमा २१७ रनको विशाल योगफल तयार गर्‍यो। मुम्बईका ओपनर रेन रिकेल्टनले विस्फोटक प्रदर्शन गर्दै ३८ बलमा ६१ रन बनाएर ‘प्लेयर अफ द म्याच’ घोषित भए। कप्तान रोहित शर्माले ३६ बलमा ५३ रन बनाए। सूर्यकुमार यादव र हार्दिक पाण्ड्याले समान २३–२३ बलमा ४८–४८ रन बनाएर टोलीलाई मजबुत स्कोरतर्फ डो¥याए।

जवाफमा २१८ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानको सुरुआत निराशाजनक रह्यो। १६.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै टिम ११७ रनमै समेटियो। राजस्थानका लागि जोफ्रा आर्चरले सबैभन्दा धेरै ३० रन बनाए।

बलिङतर्फ मुम्बईका करण शर्माले चार ओभरमा २३ रन खर्चेर तीन विकेट लिँदा ट्रेन्ट बोल्टले २.१ ओभरमा २८ रन दिँदै तीन विकेट झारे। जसप्रित बुमराहले किफायती बलिङ गर्दै चार ओभरमा मात्र १५ रन दिँदै दुई विकेट लिएका थिए।

यो जितपछि मुम्बई १४ अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ। अर्कोतर्फ, राजस्थानले ११ खेलमा केवल तीन जित हात पार्दै आठ खेलमा हार बेहोरेपछि अब बाँकी तीन खेल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0