पोखरा, २३ वैशाख। गएरातिको वर्षाले उदयपुरको त्रियुगा नदीमा आएको बाढीले जन्ती लिएर फर्किंदै गरेको एक बस बगाएको छ। चौदण्डीगढी नगरपालिका–५ सिवाई–बेल्हा गाउँको बीचमा रहेको नदी पार गर्ने क्रममा त्रियुगा ड्याममा पानीको बहाव तीव्र भएपछि बस बगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख हरिहरनाथ योगीले जानकारी दिएका छन्।
धरान–बेल्टार रुटमा चल्ने ‘बराहक्षेत्र लेखिएको’ को १ ख ४७५३ नम्बरको बस सप्तरीबाट जन्ती पुर्याएर फर्किंदै गर्दा दुर्घटनामा परेको हो। घटनाका बेला बसमा चालक र सहचालक मात्र रहेकाले मानवीय क्षति नभएको प्रहरीको भनाइ छ। उनीहरू सकुशल रहेको र घटनापछि तत्काल उद्दार गरिएको बताइएको छ।
बस डुबेको स्थानको केही मुनि ६ वर्षअघि निर्माणाधीन अवस्थामा रहेको पक्की पुल बाढीले ढालिसकेको थियो। पुल निर्माणको ठेक्का सम्झौता पनि हाल रद्द गरिएको छ। सो स्थानमा पुल निर्माण भइसकेको भए आजको दुर्घटना टर्न सकिने भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्। उनीहरूले विकास निर्माणको ढिलासुस्तीप्रति असन्तोष व्यक्त गरेका छन्।
त्रियुगा नदीमाथि निर्माण हुने भनिएको पुल महालक्ष्मी–लोकप्रिय जेभी, कलंकीले ०६७ सालमा नौ करोड ७६ लाख रुपैयाँमा तीन वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो। पछि लागत समायोजन गरी ११ करोड २७ लाखमा निर्माण अघि बढाइएको थियो। तर, ०७८ सालको असारमा आएको बाढीले पुल भत्काएको हो। पुल नबन्दा चौदण्डीगढी–५, ९ र १० नम्बर वडाका करिब २० हजार नागरिक नियमित आवागमनमा समस्या भोगिरहेका छन्।





























