पोखरा, २८ वैशाख। पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा सञ्चालन भइरहेको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा नौ दिनसम्म वाल्मीकि श्रीराम कथा वाचन गरेका आचार्य प्रशान्त कृष्ण पंराकुशजीलाई शनिवार विदाई गरिएको छ। विशेष कार्यक्रमकाबीच महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिले पंराकुशजीलाई भावपूर्ण बिदाइ गरेका हुन्।
विदाई कार्यक्रम भावुक वातावरणमा सम्पन्न भयो। कोटिहोममा उनको प्रभावशाली कथा वाचनले भक्तजनहरूमा आध्यात्मिक ऊर्जा भरेको थियो। पंराकुशजीको कथा वाचनले महायज्ञको गहिराइ र व्यापकता अझै सशक्त बनाएको सहभागीहरूको प्रतिक्रिया थियो। उनको विदाइसँगै महायज्ञको अर्को अध्याय सुरु हुँदैछ।
प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार आइतबारदेखि वाचन प्रवीण पं. दिनबन्धु पोखरेलले प्रवचनको जिम्मेवारी सम्हाल्नेछन्। पोखरेलले जेठ ३ गतेसम्म श्रोतामाझ ज्ञानवाणी प्रस्तुत गर्नेछन्। लामो समयदेखि आध्यात्मिक प्रवचनमा समर्पित पोखरेलको आगमनले महायज्ञको स्तर अझै बढ्ने अपेक्षा गरिएको छ।
महायज्ञको आगामी कार्यक्रमहरूमा पनि ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्वहरूको सहभागिता सुनिश्चित भएको छ। महायज्ञ मूल आयोजक समितिका सह-निर्देशक युवक लामिछानेले जेठ १४ देखि २२ गतेसम्म श्रीमद देवी भागवत कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी र दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराजले प्रवचन गर्ने जानकारी दिए।
शनिवारको कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा प्रमुख अतिथि रूपमा उपस्थित थिए। उनले कोटिहोमको व्यापकता, गाम्भीर्य र आध्यात्मिक उचाइको खुलेर प्रशंसा गरे। शर्माले यस्तो विराट महायज्ञ कलियुगमा विरलै हुने बताए। उनले भने, “कलियुगमा यज्ञ नै कम हुने बेलामा यस्तो ठूलो महायज्ञ आयोजना गर्नु सामान्य कुरा होइन। यसको प्रशंसा जति गरे पनि थोरै हुन्छ।”
शर्माले महायज्ञले विश्व शान्तिको सन्देश दिने र भक्तजनमा सकारात्मक ऊर्जा प्रवाहित गर्ने उल्लेख गरे। “म अतिथि भएर होइन, दर्शनार्थी भएर कोटिहोम आएको हुँ,” उनले भने, “महायज्ञ स्थलको भव्यता देखेर अचम्ममा परें। आयोजकको प्रयास सराहनीय छ।” उनले भक्तजनलाई यस महायज्ञबाट सकारात्मक ऊर्जा लिएर जान पनि आग्रह गरे।
महायज्ञले भक्तिभाव, धर्म, संस्कृति र समर्पणको सन्देश फैलाउँदै आएको छ। यस धार्मिक पर्वमा विभिन्न आयामका गतिविधिहरू निरन्तर सञ्चालन भइरहेका छन्, जसले पोखरा लगायत देशभरका भक्तजनलाई एकताबद्ध बनाइरहेको छ।
































