पोखरा, २९ वैशाख। इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेका लिभरपुल र दोस्रो स्थानमा रहेको आर्सनलबीचको प्रतिक्षित खेल २-२ को बराबरीमा टुंगिएको छ। यस बराबरीसँगै लिग उपाधि पहिल्यै पक्का गरिसकेको लिभरपुलको शिर्षता यथावत् रहँदा आर्सनलले दोस्रो स्थानमा आफ्नो पकड कायम राखेको छ।

एनफिल्ड रंगशालामा भएको खेलको सुरुआतमै लिभरपुलले आक्रामक प्रदर्शन गर्दै दुई गोलको स्पष्ट अग्रता लिएको थियो। खेलको २०औं मिनेटमा कोडी गाक्पोले र २१औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई बलियो सुरुआत दिलाए। तर दोस्रो हाफमा आर्सनलले पुनरागमन गर्दै खेलमा रोमाञ्चकता थप्यो।

४७औं मिनेटमा गाब्रीएल मार्टिनेलीले गोल गर्दै आर्सनललाई खेलमा फर्काउने संकेत गरे। त्यसपछि ७०औं मिनेटमा मिकेल मेरिनोले बराबरी गोल गर्दै स्कोरलाई २-२ बनाए। खेलको ७९औं मिनेटमा मेरिनोले रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि आर्सनल १० खेलाडीमा सीमित भयो।

तर संख्यात्मक फाइदा हुँदाहुँदै पनि लिभरपुलले अन्तिम समयमा निर्णायक गोल गर्न सकेन। खेल बराबरीमा सकिएपछि लिभरपुलको ३६ खेलबाट ८३ अंक पुगेको छ भने आर्सनलको समान खेलबाट ६८ अंक छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0