पोखरा, २९ वैशाख। भारतको अरुणाञ्चल प्रदेशमा जारी साफ यु–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। सोमबार युपिस्थित गोल्डेन जुब्ली स्टेडियममा भएको समूह बी अन्तर्गतको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।

समूह चरणको पहिलो खेलमै जित निकाल्दै नेपालले सेमिफाइनलमा प्रवेश पाएको हो। लगातार दोस्रो हारपछि श्रीलंका भने प्रतियोगिताबाटै बाहिरिएको छ। यसअघि श्रीलंका भारतसँग ८–० ले पराजित भएको थियो। नेपालसँगै समूह बी का भारत पनि सेमिफाइनलमा पुगेको छ। अब मंगलबार नेपाल र भारतबीच हुने खेलले समूह विजेताको टुंगो लगाउनेछ।

खेलको पहिलो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा सुजन डंगोलले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा नेपालले थप चार गोल गर्दै श्रीलंकामाथि दबदबा जमायो। ६१औं मिनेटमा धरबेन्द्र कुँवरले, ७७औं मिनेटमा सुवास बम ठकुरीले, ८९औं मिनेटमा विज्ञान खड्काले र इन्जुरी टाइममा लक्षु थापाले फ्रिकिकमार्फत गोल गर्दै नेपाललाई ५–० को सानदार जित दिलाए।

साफ यु–१९ च्याम्पियनसिपमा नेपालको जितसँगै युवास्तरको फुटबलमा नेपाली टोलीको प्रदर्शन उत्साहजनक देखिएको छ। नेपाली खेलाडीहरूको तालमेल, रणनीति र आत्मविश्वासले टोलीलाई प्रतियोगितामा अझै अगाडि पुर्‍याउने विश्वास बढेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0