पोखरा, ३० वैशाख। भारत–पाकिस्तानबीचको बढ्दो तनावका कारण स्थगित गरिएको इण्डियन प्रिमियर लिग (आईपीएल)का बाँकी खेलहरु आगामी १७ मे अर्थात् जेठ ३ गतेदेखि पुनः सुरु हुने भएका छन्। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले सोमबार सार्वजनिक गरेको परिमार्जित तालिका अनुसार लिग चरणको अन्तिम खेल २८ मेमा सम्पन्न हुने र फाइनल खेल ३ जुन अर्थात् जेठ २० गते खेलाइनेछ।
गत बिहीबार धर्मशालामा पञ्जाब किङ्ग्स र दिल्ली क्यापिटल्सबीचको खेल भइरहेको बेला पाकिस्तानतर्फबाट भारतमाथि आक्रमण भएको भन्दै सुरक्षा जोखिमका कारण खेल स्थगित गरिएको थियो। सोही घटनापछि सबै खेलहरू अनिश्चितकालका लागि रोकिएको थियो। विस्तृत छलफल र सुरक्षा मूल्याङ्कनपछि बीसीसीआईले नयाँ तालिकासहित आईपीएल पुनः सञ्चालन गर्ने निर्णय लिएको जनाएको छ।
परिमार्जित तालिकाअनुसार बाँकी १७ खेल ६ वटा प्रमुख भारतीय शहरहरूमा खेलाइनेछन्। ती शहरहरूमा बेंगलुरु, जयपुर, दिल्ली, लखनऊ, मुम्बई र अहमदाबाद रहेका छन्। आईपीएलको पुनः थालनी १७ मेमा बेंगलुरु र कोलकाता नाइट राइडर्सबीच बेंगलुरुमै हुनेछ। अन्तिम लिग खेल भने २८ मेमा लखनउ र बेंगलुरुबीच लखनउमा खेलिनेछ। जयपुरमा खेल नहुने प्रारम्भिक अनुमान गरिएको भए पनि अन्ततः तालिकामा जयपुर पनि समावेश गरिएको छ।
प्लेअफका खेलहरू कुन मैदानमा हुने भन्ने विवरण भने पछि सार्वजनिक गरिने बीसीसीआईले जनाएको छ। साथै, डबल–हेडर अर्थात् एउटै दिन दुई खेल हुने खेलहरू आइतबारका दिनमा मात्र समावेश गरिने निर्णय गरिएको छ।
बीसीसीआईले प्रेस विज्ञप्ति जारी गर्दै टाटा आईपीएल २०२५ पुनः सुरु गर्न पाउनु गौरवको विषय भएको बताएको छ। सरकारले प्रदान गरेको सहयोग, सुरक्षा निकायहरूको समन्वय र सरोकारवालाको सहकार्यका कारण प्रतियोगिता सञ्चालन सम्भव भएको बोर्डले स्पष्ट पारेको छ।





























