पोखरा, ३० वैशाख। गर्मीको मौसम सुरु भएसँगै देशभर आइसक्रिमको माग र व्यापार तीव्र गतिमा वृद्धि हुँदै गएको छ। संघीय राजधानी काठमाडौंदेखि पोखरा, विराटनगर, नेपालगञ्जजस्ता सहरहरूमा आइसक्रिमका पारखीहरूको भीड पसलहरूमा देखिन थालेको छ। युवायुवतीदेखि बालबालिका र वृद्धवृद्धासम्मले आइसक्रिमलाई गर्मीको सस्तो र स्वादिलो सहारा बनाएका छन्।
काठमाडौं नयाँ बानेश्वरस्थित लिभरपुल इन्टरनेसनल कलेजकी छात्रा स्मृति राईका अनुसार गर्मीको मौसममा आइसक्रिम खानु रमाइलो मात्र होइन, राहतको स्रोत पनि हो। उनी स्ट्रबेरी फ्लेभरकी पारखी हुन् भने शंखमुलकी रियासा पाण्डेलाई चोको बार र भेनिला मनपर्छ। उनीहरूजस्तै धेरै उपभोक्ताहरूको रोजाइले बजारमा आइसक्रिमको माग झनै बढेको व्यवसायीहरू बताउँछन्।
बुद्धनगरमा सञ्चालित बिन्ध्यवासिनी दुग्ध खरिद–बिक्री ट्रेडर्सकी सञ्चालक गीता तिमल्सिना अनुसार अहिले दैनिक सयभन्दा बढी आइसक्रिम बिक्री भइरहेको छ। डीडीसीले समेत दैनिक ३ सयदेखि ५ सय लिटरसम्म आइसक्रिम उत्पादन गर्दै आएको छ भने वार्षिक ६० हजार लिटर उत्पादन क्षमतासहित बजारमा विभिन्न फ्लेभरका आइसक्रिम आपूर्ति गर्दै आएको छ।
नेपाल आइसक्रिम उद्योग संघका अनुसार देशभर १५० वटा आइसक्रिम उद्योग छन्, जसमा ३ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी छ। नेपालमा वार्षिक ३५ लाख लिटर आइसक्रिम खपत भइरहेको छ, जसमा नेपाली उत्पादनको हिस्सा ५२ प्रतिशत पुगेको छ। भारतबाट आयात हुने सस्तो आइसक्रिमले केही प्रतिस्पर्धा गरे पनि उपभोक्ताको रोजाइ भने घरेलु उत्पादनतर्फ बढ्दो छ।
स्कुप फुड प्रडक्टका सञ्चालक तथा संघका सचिव सरोज श्रेष्ठका अनुसार गत वर्षभन्दा यो वर्ष व्यापार उल्लेख्य रूपमा वृद्धि भएको छ। उपभोक्ताको माग अनुसार विभिन्न स्वाद र मूल्यको आइसक्रिम बजारमा उपलब्ध छ। सस्तोमा २० रुपैयाँदेखि प्रिमियम प्याकसम्मको आइसक्रिम रुचाइने गरिएको छ।
गर्मीको सिजनसँगै आइसक्रिम न केवल विलासिताको वस्तु बनेको छ, तर उपभोक्ताको दैनिक स्वादको एक महत्वपूर्ण अंशमा परिणत भएको छ। बजार विस्तार, स्थानीय उत्पादनको वृद्धि र विविध फ्लेभरको उपलब्धताले नेपाली आइसक्रिम उद्योगलाई थप सशक्त बनाउँदै लगेको छ।

































