पोखरा, ३० वैशाख। स्पेनका पूर्वमिडफिल्डर जावी अलोन्सो रियल मड्रिडको नयाँ मुख्य प्रशिक्षक बन्ने तयारीमा छन्। स्पानिस मिडियाहरूका अनुसार जर्मन क्लब बायर लेभरकुजनबाट अलोन्सोले राजीनामा दिएपछि रियल मड्रिडले उनलाई आगामी सिजनका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिने भएको हो।

४३ वर्षीय अलोन्सो यसअघि स्पेन, लिभरपुल, बायर्न म्युनिख र रियल मड्रिडको मिडफिल्ड सम्हालिसकेका अनुभवी खेलाडी हुन्। प्रशिक्षकको भूमिकामा उनले बायर लेभरकुजनलाई पहिलोपटक बुन्डेसलिगा उपाधि दिलाएका थिए, जसले उनको प्रशिक्षण क्षमताको उच्च मूल्यांकन गराएको छ।

रियल मड्रिडका हालका प्रशिक्षक कार्लो एन्सेलोटीले यस सिजनको अन्त्यसँगै क्लब छाड्ने पक्का भएको छ। ब्राजिल फुटबल संघले उनलाई राष्ट्रिय टोलीको नयाँ प्रशिक्षकका रूपमा घोषणा गरिसकेको छ। यद्यपि उनको रियल मड्रिडसँगको सम्झौता अर्को वर्षसम्म रहेको थियो, क्लबको हालको प्रदर्शनप्रति असन्तुष्टि र आपसी समझदारीपछि उनी पदबाट हट्ने भएका हुन्।

रियल मड्रिड यस सिजन एल क्लासिकोमा बार्सिलोनासँग पराजित भएपछि लिगको शीर्ष स्थानबाट सात अंकले पछि परेको छ। च्याम्पियन्स लिगबाट पनि क्वाटरफाइनलमै बाहिरिएको र कोपा डेल रे फाइनलमा समेत बार्सिलोनासँग हार व्यहोरेको क्लबका लागि नयाँ प्रशिक्षकको खोजी अपरिहार्य बनेको छ।

रियलले आगामी जुन-जुलाईमा अमेरिकामा आयोजना हुने फिफा क्लब विश्वकपमा सहभागी हुने भएकाले त्यसअघि नै प्रशिक्षक नियुक्ति गर्नुपर्ने दबाब छ। सोही कारणले क्लबले मे २५ मा रियल सोसिडाडविरुद्धको सिजन अन्त्यको खेलपछि अलोन्सोलाई औपचारिक रूपमा प्रशिक्षक घोषणा गर्ने सम्भावना छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0