पोखरा, ३ जेठ। भारत–पाकिस्तानबीचको पछिल्लो सीमा तनावका कारण केही समयका लागि रोकिएको इन्डियन प्रिमियर लिग (आइपिएल) शनिबारदेखि पुनः सुरु हुँदैछ। लिग चरणको अन्तिम मोडमा पुगेको प्रतियोगिता अब थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ, जहाँ अधिकांश टोलीहरू प्लेअफमा स्थान सुरक्षित गर्ने लक्ष्यमा छन्।
शनिबारको खेलमा राेयल च्यालेन्जर्स बेंग्लोर र कोलकाता नाइटराइडर्स आमनेसामने हुँदैछन्। बेंग्लोरको घरेलु मैदानमा हुने यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण छ, यद्यपि दबाब भने कोलकातामाथि बढी देखिएको छ। ११ खेल खेलेको कोलकाताले पाँच जित हात पार्दै ११ अंकसहित अंकतालिकाको छैटौँ स्थानमा रहेको छ। बाँकी खेल जित्न नसकेमा उसले प्लेअफको दौडबाट बाहिरिन सक्ने सम्भावना प्रबल देखिएको छ।
बिपरीत, बेंग्लोर तुलनात्मक रूपमा सहज अवस्थामा छ। ११ खेलबाट आठ जित निकाल्दै १६ अंकसहित दोस्रो स्थानमा रहेको बेंग्लोरले प्लेअफमा स्थान बनाउन अब एक जित मात्र आवश्यक छ। लिग चरणमा बेंग्लोरले तीन खेल अझै खेल्न बाँकी रहेको छ।
अंकतालिकाको शीर्ष स्थानमा गुजरात टाइटन्स रहेको छ। उसले पनि ११ खेलमध्ये आठ खेलमा जित हात पारेको छ। गुजरातलाई प्लेअफमा पुग्नका लागि पनि अब एक जित काफी हुनेछ।
तेस्रो स्थानमा पन्जाब किंग्स, चौथोमा मुम्बई इन्डियन्स र पाँचौँमा दिल्ली क्यापिटल्स रहेका छन्। लखनउ सुपर जायन्ट्स सातौँ स्थानमा रहँदै प्लेअफको सम्भावनामा टिकिरहेको छ। यद्यपि चेन्नई सुपर किंग्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद भने अंकगत हिसाबले प्लेअफको सम्भावनाबाट बाहिरिसकेका छन्।
जसरी प्रतिस्पर्धा आफ्नो निर्णायक चरणमा प्रवेश गरिरहेको छ, त्यसले दर्शक र क्रिकेट प्रेमीहरूका लागि आइपिएललाई अझ रोमाञ्चक बनाएको छ। अवलोकन गरिरहनुपर्ने कुरो अबको केही खेलले अंकतालिका कस्तो मोड लिन्छ भन्ने नै हुनेछ।






























