पोखरा, ४ जेठ। अमेरिकाको मिसौरी, केन्टुकी र भर्जिनिया राज्यमा शुक्रबार रातिदेखि आएको विनाशकारी आँधी र टर्नाडोले ठूलो जनधनको क्षति पुर्याएको छ। तीन राज्यमा कम्तीमा २७ जनाको ज्यान गएको पुष्टि गरिएको छ भने मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना स्थानीय अधिकारीहरूले बताएका छन्।
न्यूयोर्क टाइम्सका अनुसार, सबैभन्दा बढी क्षति मिसौरी र केन्टुकीमा भएको छ। मिसौरीको सेन्ट लुइस क्षेत्रमा पाँच र स्कट काउन्टीमा दुई जनाको मृत्यु भएको छ। केन्टुकीको लरेल काउन्टीमा टर्नाडोले एकजना अग्नि नियन्त्रकसहित १७ जनाको ज्यान लिएको छ। भर्जिनियामा पनि दुई जनाको मृत्यु भएको जनाइएको छ।
टर्नाडोले मिसौरीको सेन्ट लुइसमा करिब २० वर्ग ब्लक क्षेत्रलाई क्षतिग्रस्त बनाएको छ। सेन्ट लुइसकी मेयर कारा स्पेन्सरले यस आँधीलाई शहरको इतिहासमै सबैभन्दा हृदयविदारक घटनामध्ये एक भएको बताउँदै करिब पाँच हजार भवनमा क्षति पुगेको र ३० जनाभन्दा बढी घाइते भएको जानकारी दिएकी छन्।
घटनास्थलबाट आएका ड्रोन भिडियाहरूमा भवनहरू ध्वस्त भएको, सडकमा गाडीहरू उल्टिएको, र संरचनाहरू पूर्ण रूपमा नष्ट भएको देखिन्छ। मिसौरी र केन्टुकीमा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध हुँदा एक लाख ८३ हजारभन्दा बढी घरहरू अन्धकारमा डुबेका छन्।
अमेरिकी राष्ट्रिय मौसम विज्ञान विभागले आगामी दिनहरूमा समेत आँधी र बाढीको जोखिम कायम रहेको चेतावनी दिएको छ। स्थानीय प्रशासनले नागरिकहरूलाई अत्यावश्यक नपरी घर बाहिर ननिस्कन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।


























