पोखरा, ५ जेठ। रूपन्देहीको बुटवलसहित आसपासका शहरहरूमा पछिल्लो दुई वर्षयता अन्धाधुन्ध रूपमा ‘हाइमास्ट लाइट’ जडान गरिँदा प्राकृतिक जीवनचक्रमा प्रतिकूल असर पर्न थालेको छ। सडक र चोकलाई आकर्षक बनाउने भन्दै स्थानीय तहहरू करोडौं खर्च गरेर अत्यधिक उज्यालो दिने बत्ती जडानमा लागेको पाइन्छ। तर, यी बत्तीहरूले मानवीय स्वास्थ्य, पशुपन्छी तथा चराचुरुङ्गीको जीवनचक्रमा नकारात्मक असर पु¥याइरहेका छन्।
बुटवल–भैरहवा सिक्स लेन सडकमा शुरूमा सौर्यबत्ती जडान गरिएको थियो। ती बत्तीहरू एक वर्षमै नबलेपछि तिलोत्तमा नगरपालिकाले नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा चम्किला विद्युत बत्तीहरू जडान गर्न थाल्यो। त्यसपछि विभिन्न चोकमा पुनः झिलिमिली बत्ती थपिए। पछिल्लो समय त हाइमास्ट लाइट नै मुख्य चोकहरूमा अनावश्यक रूपमा जडान गरिएको छ।
यस्ता बत्तीहरू सामान्य सडक बत्ती भन्दा बढी चहकिलो हुन्छन् र एकै पोलबाट ठुलो क्षेत्रलाई उज्यालो दिने क्षमतायुक्त हुन्छन्। विशेषज्ञहरूका अनुसार यस्तो अत्यधिक उज्यालोले मानिसको निद्रा चक्र बिगार्नुका साथै चरा, चमेरो, किराफट्याङ्ग्रा जस्ता रात्रिचर जीवजन्तुको बसोबास र चालचलनमा गम्भीर असर पुर्याएको छ। पशुपन्छी विज्ञ कृष्ण भुसालका अनुसार रातिमा बसाइँ सर्ने चराहरू उज्यालो बढी हुँदा बाटो बिराउने, लाइटमा ठोक्किने, र बासस्थान नै गुमाउने अवस्था सिर्जना भएको छ।
पर्यावरण संरक्षणविद् डा. हुम गुरुङका अनुसार अत्यधिक कृत्रिम उज्यालोले पारिस्थितिक सन्तुलनमा गम्भीर असर पुर्याउँछ। ‘फ्लड लाइट स्तरको लाइट खेलमैदानका लागि हो, शहरको चोकका लागि होइन,’ उनी भन्छन्। बत्तीको कारण रातको समयतालिका, निद्राको गुणस्तर, र आँखासम्बन्धी समस्या पनि बढ्दै गएको विज्ञहरूको भनाइ छ।
बुटवल उप–महानगरपालिकाले भने आवश्यकताको आधारमा प्राविधिक सल्लाहमा बत्ती जडान गरिएको दाबी गर्दै आएको छ। तर उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री र उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनीका अध्यक्ष तेजकुमार पाठकले यस्ता बत्तीहरू अनुत्पादक क्षेत्रमै राखिएको र यिनको आवश्यकतालाई पुनः मूल्यांकन गर्नुपर्नेमा जोड दिएका छन्।
शहरमा प्रतिस्पर्धात्मक रूपमा अधिक प्रकाश फैलाउने होड चलिरहेका बेला लुम्बिनीका गाउँपालिकाहरू पनि यसै अभ्यास पछ्याइरहेका छन्। सांसदहरू समेत आफ्नो विकास बजेटको ठूलो हिस्सा बत्तीमै खर्चिन थालेका छन्। यस्तो अभ्यासले जनताको मौलिक अधिकार र मानव–प्रकृति सन्तुलनप्रति गम्भीर प्रश्न खडा गरेको छ।






























