पोखरा, ७ जेठ। राजस्थान रोयल्सले आईपीएल २०२५ को आफ्नो अन्तिम खेलमा चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा सिजनको अन्त्य जितसँगै गरेको छ। लगातार आठ खेलसम्म रन पछ्याउँदा पराजित हुँदै आएको राजस्थानले अन्ततः आक्रामक ब्याटिङ प्रदर्शन गर्दै १८८ रनको चुनौती १७.१ ओभरमै पूरा गर्यो।
राजस्थानका ओपनर यशश्वी जैसवालले १९ बलमा आक्रामक ३६ रन बनाएर टिमलाई तीव्र सुरुवात दिलाए। त्यसपछि वैभव सूर्यवंशीले संयमित ५७ रन बनाए भने अन्त्यतिर ध्रुव जुरेलले १२ बलमा विस्फोटक ३१ रन जोड्दै जितलाई सहज बनाए। चेन्नईका बलर रवि आश्विनले दुई विकेट लिए भने नूर अहमद र अंशुल कमबोजले एक–एक विकेट लिएका थिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चेन्नई सुपर किङ्सले राम्रो सुरुवात गरे पनि २० ओभरमा ८ विकेटको क्षतिमा १८७ रनमै सीमित भयो। चेन्नईका लागि आयुष माथरेले ४३, डेवाल्ड ब्रेभिसले ४२ र शिवम दुबेले ३९ रन बनाए। राजस्थानका तर्फबाट आकाश मधवाल र युधविर सिंहले ३-३ विकेट लिए। तुषार देशपाण्डे र वानिन्दु हसरंगाले पनि प्रभावकारी बलिङ गर्दै एक–एक विकेट झारे।
यो जितपछि राजस्थान १४ खेलमा जम्मा ८ अंक जोड्दै नवौं स्थानमा सिजन समाप्त गरेको छ। जबकि चेन्नई सुपर किङ्सलाई अंक तालिकाको पुछारबाट जोगिन अब अन्तिम खेलमा ठूलो जित आवश्यक छ। राजस्थानका लागि सिजन निराशाजनक रहे पनि अन्तिम खेलमा देखाएको प्रदर्शन प्रशंसनीय रह्यो।






























