पोखरा, ७ जेठ। विश्वकै चर्चित कबड्डी प्रतियोगिता प्रो कबड्डी लिग (पीकेएल) को १२औं संस्करणको अक्सनका लागि नेपालबाट चार जना खेलाडीको नाम सिफारिस गरिएको छ। अखिल नेपाल कबड्डी संघले नेपाली राष्ट्रिय टोलीका कप्तान घनश्याम रोकामगरसहित गणेश कार्की, सुशिल चुनारा र रामु टमाटालाई अक्सनका लागि सिफारिस गरेको जनाएको छ।

नेपाली कबड्डीको स्थायी पहिचान बनिसकेका घनश्याम रोकामगर ११औं संस्करणमा भारतीय टिम हरियाणा स्टिलर्सबाट खेल्दै च्याम्पियन बनेका थिए। उनले टिमको प्रमुख डिफेन्डरका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। अघिल्लो सिजनमा हरियाणाले उनलाई अक्सनअघि नै रिटेन गरेकाले उनी अक्सनमा नपरेका थिए। बाँकी तीन नेपाली खेलाडीहरू भने त्यसबेला अक्सनमा सहभागी भएका थिए।

यसपटकको सिफारिसमा पनि उही घनश्याम, गणेश, रामु बाहेक नयाँ अनुहारका रूपमा सुशिल चुनारा समावेश भएका छन्। संघका अनुसार खेलाडीको प्रदर्शन, अनुभव र फिटनेसलाई मूल्यांकन गर्दै नाम सिफारिस गरिएको हो।

पछिल्लो समय नेपालमा कबड्डीको लोकप्रियता उल्लेख्य रूपमा बढेको छ। केही समयअघि सम्पन्न नेपाल कबड्डी लिग (एनकेएल) को सफल आयोजना र राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय सफलता यसका प्रमाण हुन्। नेपाली महिला टोलीले १९औं एसियन गेम्स र एसियन कबड्डी च्याम्पियनसिपमा कांस्य पदक जितेको छ भने पुरुष टोलीले बंगलादेशमा सम्पन्न बंगबन्धु कपमा रजत पदक जित्दै ऐतिहासिक उपलब्धि हासिल गरिसकेको छ।

प्रो कबड्डीको अक्सनमा नेपाली खेलाडीको सहभागिता नेपालका लागि ठूलो अवसरका रूपमा हेरिएको छ। यसले नेपाली खेलाडीलाई व्यावसायिक अनुभवसँगै अन्तर्राष्ट्रिय मान्यता दिलाउने अपेक्षा गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0