पोखरा, ७ जेठ। काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डेलाई अनुशासनहीन आचरण गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले सात बुँदे स्पष्टिकरण सोधेका छन्। महानगर स्रोतका अनुसार पाण्डेलाई महानगरको आन्तरिक कार्यशैलीमा अवरोध पुर्याएको, अनधिकृत बयानबाजी गरेको तथा जनप्रतिनिधिहरूसँग अमर्यादित व्यवहार देखाएको भन्दै यस्तो कारबाही प्रक्रिया अघि बढाइएको हो।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले बुझाएको स्पष्टीकरण पत्रमा पाण्डेले कर्मचारीका रुपमा पालना गर्नुपर्ने आचरण र अनुशासन उल्लङ्घन गरेको उल्लेख छ। साथै उनले सञ्चार माध्यमहरूसँग समन्वयबिना अनधिकृत रूपमा धारणा सार्वजनिक गरेको विषयलाई पनि गम्भीर रूपमा उठाइएको छ।
महानगरले कार्यालय परिसरमा उत्पन्न द्वन्द्वलाई शान्त पार्ने उद्देश्यले दिएका निर्देशन पालना नगरी वातावरणलाई नियोजित रूपमा उत्तेजित बनाएको आरोप पाण्डेमाथि लगाइएको छ। विशेषतः प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा बाटो छेकी अवरोध पुर्याएको घटनालाई पनि गम्भीर रूपमा लिइएको छ।
महानगरले सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। यदि तोकिएको समयमा चित्तबुझ्दो स्पष्टीकरण नआए कानुनी प्रक्रिया अनुसार अनुशासनात्मक कारबाही अघि बढाइने महानगर स्रोतले जनाएको छ। यस्ता विषयले महानगरभित्रको प्रशासनिक समन्वयमा असहजता निम्त्याएको र शासकीय कार्यसम्पादनमा अवरोध हुने अवस्था सिर्जना भएको भन्दै तत्काल सुधारको अपेक्षा गरिएको छ।




























