पोखरा, ११ जेठ।
पोखराको धार्मिक, सांस्कृतिक र आध्यात्मिक इतिहासमा एक ऐतिहासिक अध्यायको रूपमा अघि बढिरहेको श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज कथा वाचिका देवी प्रतिभाको पुनः आगमन भएको छ। उनी २५ सदस्यीय टोलीसहित महायज्ञस्थल पुगेकी हुन्। जेठ १६ गतेसम्म उनले दिव्य प्रवचन गर्ने कार्यक्रम तय गरिएको छ। यसअघि वैशाख ५ गतेदेखि १४ दिनसम्म श्रीमद्भागवत कथा वाचन गरेकी देवी प्रतिभाका “प्यार से बोलोन” शब्द अहिले लाखौं भक्तजनको उर्जा स्रोत बनेको छ।
उनको आगमनसँगै युवा दार्शनिक चैतन्यकृष्ण महाराजको विदाइ गरिएको छ। त्यसपछि जेठ १४ देखि २२ गतेसम्म राधिका दासीले श्रीमद्भागवत प्रवचन गर्ने कार्यक्रम सार्वजनिक भएको छ। प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार शुक्रबार परेको एकादशीमा मात्र एक लाखभन्दा बढी भक्तजनको सहभागिता रहेको थियो। वैदिक विधिबाट गरिएको पूजाआर्चना, हवन, आध्यात्मिक प्रवचनले महायज्ञको भव्यता झल्किएको थियो।
श्री विभूषित १००८ स्वामी पुरुषोत्तमजी महाराज, गलेश्वर आश्रमका शिव आचार्य गुरुजस्ता विशिष्ट आध्यात्मिक व्यक्तित्वहरूले कथा र भजनमार्फत भक्तिभाव उजागर गरेका छन्। महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयश्रीकृष्णमूर्ति जी महाराजले अन्नपूर्ण गाउँपालिकाका बिष्णु जैसीले ३ रोपनी ३ पैसा र दुर्गादत्त उपाध्याय पौडेलले ५ रोपनी २ पैसा ३ दाम जग्गा दान गरेको जानकारी दिए। साथै स्व. सूर्य व. केसीको स्मृतिमा उनकी धर्मपत्नी प्रेम कुमारी केसीद्वारा दुई लाख रुपैयाँको दान गरिएको छ।
रक्तदान अभियानमा हालसम्म ६०० युनिटभन्दा बढी रगत संकलन भइसकेको छ भने राष्ट्रिय भजन प्रतियोगितामा दुई सयभन्दा बढी समूहको सहभागिता रहेको छ। समाजसेवी सागर ढकालले संस्कारलाई वैज्ञानिक रूपमा बुझ्नुपर्नेमा जोड दिएका छन् भने वक्ता रमेश प्रसाईले यज्ञमा सहभागिता सभ्यताको सर्वोच्चता भएको बताएका छन्।
महायज्ञ अन्तर्गत जेठ २६ गतेसम्म ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता हुँदैछ। दैनिक चार सयभन्दा बढी ब्राह्मणद्वारा सञ्चालन भइरहेको हवनले वातावरण शुद्धीकरण र आध्यात्मिक उर्जा प्रवाह गरिरहेको आयोजकको भनाइ छ।
विवाह, ग्रहशान्ति, तुलादान, पितृ पुराण, रुद्राभिषेक, गोदानजस्ता वैदिक कर्मकाण्ड, १८ पुराण, ४ वेद र १०८ श्रीमद्भागवत पाठ पारायण कार्यक्रम भइरहेको छ। विवाह इच्छुकहरूका लागि शुभ विवाहको पनि व्यवस्था गरिएको छ। दरौँ सिरुवारीबाट आएको सांस्कृतिक झाँकी र मानव सेवा फाउन्डेसनद्वारा सञ्चालित अभियानको सहयोगार्थ आयोजित यो महायज्ञ धार्मिक मात्र नभई सामाजिक र सेवामूलक क्षेत्रको एक महत्वपूर्ण पहल बन्न पुगेको छ।

































