पोखरा, ३१ चैत्र। गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा.डा. इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार तिवारीलाई पाँच वर्षका लागि कुलपति नियुक्त गरेका हुन्। कुलपति सिफारिस समितिको सिफारिसमा तीन उम्मेदवारमध्येबाट तिवारीलाई चयन गरिएको हो।
छनोट समितिले चैत २१ गते मुख्यमन्त्री पाण्डेसमक्ष तिवारीसहित प्रा.डा. विश्वकल्याण पराजुली र प्रा.डा. सरोज कोइरालाको नाम सिफारिस गरेको थियो। समितिमा न्यासिक परिषद अध्यक्षसमेत रहेका संयोजक प्रा.डा. कैलाशनाथ प्याकुरेल, प्रदेश लोकसेवा आयोग सदस्य कल्पना लम्साल र परिषद सदस्य डा. यमुना घले थिए।
कुलपतिका लागि सात जनाले आवेदन दिएका थिए, जसमा पाँचको मात्रै आवेदन स्वीकृत भएको थियो। स्वीकृत हुनेमा प्रा.डा. कुसुमाकर न्यौपाने र विश्वविद्यालयकै बहालवाला उपकुलपति प्रा.डा. नवराज देवकोटा पनि थिए। पूर्वकुलपति प्रा.डा. गणेशमान गुरुङको पदावधि गत फागुन ४ गते सकिएपछि नयाँ नियुक्तिका लागि सूचना प्रकाशन गरिएको थियो।
नवनियुक्त कुलपति तिवारी पोखरा विश्वविद्यालय स्कुल अफ सोसल साइन्सका पूर्वडीन समेत हुन्। कास्कीको लेखनाथ निवासी तिवारीले देश तथा विदेशमा विभिन्न दातृ संस्थासँग आबद्ध भई लामो समयसम्म काम गरेका छन्।
गण्डकी विश्वविद्यालय गण्डकी प्रदेश सरकारद्वारा स्थापना गरिएको नेपालको पहिलो प्रदेश विश्वविद्यालय हो। विश्वविद्यालयले पोखरा–३२, ज्ञानकुन्जमा अस्थायी संरचना निर्माण गरी शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ। विश्वविद्यालयमा हाल बीएसएम, बीआईटी, बिफार्म, बिबिए, बीएएलएलबी तथा एमआईटी एआई जस्ता कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।





























