२८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले शुक्रबार लुम्बिनी लायन्सलाई ५ रनले पराजित गर्दै प्लेअफको सम्भावना बलियो बनाएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा कर्णालीले दिएको १२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो।
कर्णालीले डेथ ओभरमा उत्कृष्ट बलिङ गर्दै खेल आफ्नो पक्षमा पारेको हो। लुम्बिनीका लागि टम मुर्सले ३६ रनको योगदान दिए भने सन्दिप जोराले २४ तथा आशुतोष घिरैया र साद विन जफरले समान १६ रन बनाए। कर्णालीका बलर जिसान मक्सुदले २ विकेट लिए भने कप्तान सोमपाल कामी, ननुदन यादव, विपिन शर्मा र विलियम बोसिस्टोले १-१ विकेट झारे।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो। कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाए। ३० बलमा ३ चौका र ३ छक्का प्रहार गरेका बोसिस्टोको उत्कृष्ट प्रदर्शनले कर्णालीलाई प्रतिस्पर्धात्मक लक्ष्य तयार पार्न मद्दत पुग्यो। अर्जुन घर्तीले २५ र बाबर हायतले २० रन जोडे। लुम्बिनीका बलर विकास आग्रीले ३ विकेट लिए भने तिलक भण्डारीले २ विकेट झारे।
यो जितसँगै कर्णाली ६ खेलमा ८ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ। अब कर्णालीले सोमबार सुदूरपश्चिम रोएल्सविरुद्ध लिगको अन्तिम खेल खेल्नेछ। लुम्बिनी भने यो हारसँगै लिग चरणमा ६ हार र १ जितसहित प्रतियोगिताबाट बाहिरिएको छ।





























