पोखरा, ११ पुस । महिलाको स्वास्थ्य सुधारका लागि रोटरी क्लब अफ पोखरा न्युरोड र रोटरी क्लब अफ नक्शाल शक्तिले संयुक्त रूपमा नि:शुल्क पाठेघरको मुखको भिआइए परीक्षण कार्यक्रम सुरु गर्ने भएका छन्। गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजना हुने यो कार्यक्रम रोटरी वर्ष २०२४/२५ अन्तर्गत विभिन्न चरणमा सञ्चालन गरिनेछ।
मंगलवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा यही पुस १८ गतेदेखि कार्यक्रमको प्रारम्भ हुने र वर्षभरि करिब १ हजार ५ सय महिलालाई परीक्षण सेवा प्रदान गर्ने जानकारी दिइयो। कार्यक्रम कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङलगायतका गण्डकी प्रदेशका जिल्लाहरूमा सञ्चालन हुने र विभिन्न पालिका तथा वडाका महिलालाई लक्षित गरिनेछ।
रोटरी क्लब अफ पोखरा न्युरोडका अध्यक्ष दीपेन्द्र शर्माले महिलामा पाठेघरको मुखको क्यान्सरको समस्या बढी रहेको कारणले ग्रामीण क्षेत्रमा यसको पहुँच पुर्याउन यो कार्यक्रम सञ्चालन गरिएको बताए। उनले क्लब स्थापना भएको २०१० को डिसेम्बर २४ का दिनदेखि सामाजिक सेवामा सक्रिय रहेको उल्लेख गर्दै हरेक वर्ष यस्ता कार्यक्रम सञ्चालन गरिँदै आएको बताए।
वरिष्ठ स्त्रीरोग विशेषज्ञ चण्डीका पण्डितले कार्यक्रम अन्तर्गत गरिने स्क्रिनिङ परीक्षणको महत्त्वबारे जानकारी गराउँदै यसले प्रारम्भिक अवस्थामा नै पाठेघरको समस्या पहिचान गर्न मद्दत पुग्ने बताए। उनका अनुसार समयमै परीक्षण भएमा क्यान्सरजस्ता जटिल समस्याबाट बच्न सकिनेछ।
रोटरी क्लब अफ नक्शाल शक्तिका संस्थापक अध्यक्ष डा. लुना अर्यालले महिलाहरूले भिआइए परीक्षण नगर्दा पाठेघरको क्यान्सर ढिलो गरी थाहा पाउने समस्या रहेको औंल्याइन्। उनले यो कार्यक्रमले महिलाहरूलाई समयमै सजग बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रम सञ्चालनका लागि गण्डकी मेडिकल कलेजको प्राविधिक टोलीले सेवा प्रदान गर्नेछ। क्लबका पूर्वअध्यक्ष सुवास सिग्देलले यो कार्यक्रमका लागि विभिन्न पालिका, वडा र जिल्ला प्रशासनसँग सहकार्य गरिने जानकारी दिए।
रोटरी डिस्ट्रीकले नेपालभर भिआइए परीक्षणलाई प्राथमिकता दिएको अवस्थामा यो कार्यक्रमले थप टेवा पुर्याउने र लक्षित संख्या भन्दा बढी महिलालाई परीक्षण गर्न सकिने योजना रहेको आयोजकले जनाएको छ।
कार्यक्रम ‘स्वार्थभन्दा माथि सेवा’ भन्ने मूल उद्देश्यका साथ सञ्चालन गरिनेछ। पोखरा महानगरपालिका र अन्य पालिकाहरूको सहकार्यमा ग्रामीण क्षेत्रमा पनि यसको प्रभावकारी पहुँच पुर्याउने लक्ष्य राखिएको छ।





























