पोखरा, १४ माघ । गण्डकी विश्वविद्यालयमा नयाँ कुलपति नियुक्तिका लागि प्रक्रिया सुरु भएको छ। हालका कुलपति प्राडा गणेशमान गुरुङको कार्यकाल फागुन ३ गते सकिने भएकाले विश्वविद्यालय ऐनअनुसार सिफारिस समिति गठन गरिएको हो। गण्डकी विश्वविद्यालय ऐन २०७६ को दफा २३ अनुसार कुलपति नियुक्तिका लागि सिफारिस गर्न न्यासिक परिषदको अध्यक्षको संयोजकत्वमा तीन सदस्यीय समिति गठन हुने प्रावधान छ। समितिको सदस्यमा लोकसेवा आयोगबाट सदस्य कल्पना लम्साल र न्यासिक परिषद् बाट यमुना घले रहेका छन्।

समिति गठन भएपछि छिट्टै दरखास्त आह्वान गर्ने तयारी भइरहेको विश्वविद्यालय स्रोतले जानकारी दिएको छ। गण्डकी विश्वविद्यालय ऐन २०७६ अनुसार, कुलपति नियुक्ति हुन योग्य व्यक्ति विद्यावारिधि उपाधि प्राप्त, प्राज्ञिक वा प्रशासनिक क्षेत्रमा १० वर्षको अनुभव र ४५ वर्ष उमेर पुगेका हुनुपर्छ।

समितिले कुलपति पदमा योग्य तीन जनाको नाम सिफारिस गर्नेछ र यसरी सिफारिस भएका नामबाट मुख्यमन्त्रीले कुलपति नियुक्त गर्ने प्रावधान छ।

गण्डकी विश्वविद्यालय नेपालको पहिलो प्रदेश विश्वविद्यालय हो र यसको मुख्य कार्यालय पोखरामा स्थित मुस्ताङचोकमा रहेको छ। विश्वविद्यालयले पोखरा ३२ स्थित ज्ञानकुन्जमा स्थानीय संरचना निर्माण गरेर मुख्य कार्यालय र सबै पढाइ उतै सार्ने तयारी गरेको छ। गण्डकी विश्वविद्यालय २०७६ असोज २७ मा गण्डकी प्रदेश सभाबाट पारित ऐनका आधारमा स्थापना भएको हो।

विश्वविद्यालयमा विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्, जसमा खेलकुद व्यवस्थापन, सूचना प्रविधि, फार्मेसी, व्यवसाय प्रशासन, कला र कानूनका विभिन्न स्नातक र मास्टर डिग्री कार्यक्रमहरू उपलब्ध छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0