पोखरा, १२ फागुन। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले सरकारी कर्मचारीहरूमाथि कडा नियम लागू गर्दै उपलब्धिहरू प्रमाणित गर्न वा राजीनामा दिन चेतावनी दिएको छ। सरकारी कर्मचारीहरूले गत साता गरेका कामहरूको सूची उपलब्ध गराउनुपर्ने अथवा उनीहरूको चुप्पीलाई राजीनामा मानिने सन्देश प्राप्त गरेका छन्।

शनिवार दिउँसो सरकारी कर्मचारीहरूको इन्बक्समा आएको एउटा इमेलले कर्मचारीहरूलाई पाँच बुँदामा उनीहरूले गरेका काम सूचीबद्ध गर्न निर्देशन दिएको थियो। सोही दिन ट्रम्पले कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फरेन्स (सीप्याक) मा सरकारी कर्मचारी कटौतीको योजना घोषणा गरेका थिए। त्यसलगत्तै इमेल आएको र यसलाई ट्रम्प समर्थक तथा अर्बपति व्यवसायी इलोन मस्कले नेतृत्व दिएको बुझिएको छ।

ट्रम्प प्रशासनले कर्मचारीहरूलाई जवाफ दिन असफल भएमा उनीहरूको राजीनामा स्वीकार गरिने संकेत गरेको छ। अमेरिकी संघीय सरकारको जनशक्ति व्यवस्थापन गर्ने निकायले बीबीसीसँग कुराकानी गर्दै इमेल सक्कली भएको पुष्टि गरेको छ। निकायका अनुसार दक्ष र जवाफदेही संघीय जनशक्ति निर्माण गर्ने उद्देश्यले यस्तो कदम चालिएको हो।

यस कदमप्रति संघीय कर्मचारीहरूको सबैभन्दा ठूलो युनियनले आपत्ति जनाएको छ। युनियन अध्यक्ष एभरेट केलीले ट्रम्प प्रशासन र मस्कको योजनालाई “क्रूर र अनादरपूर्ण” भन्दै गैरकानुनी रूपमा कर्मचारीहरूलाई हटाउने कार्यविरुद्ध कानुनी चुनौती दिने बताएका छन्। उनले संघीय कर्मचारीहरूले अमेरिकी जनतालाई प्रदान गर्ने सेवालाई अवमूल्यन गर्न खोजिएको आरोप लगाए।

ट्रम्पले भने आफ्ना समर्थकमाझ भाषण गर्दै सरकारलाई छरितो, प्रभावकारी र भ्रष्टाचारमुक्त बनाउने अभियान अन्तर्गत अनावश्यक तथा अयोग्य कर्मचारीलाई हटाउने बताएका छन्। उनको भनाइमा, सरकारी प्रणालीलाई व्यवस्थित गर्न दक्ष जनशक्ति मात्र राख्ने नीति अपनाइएको हो।

यसअघि, ट्रम्प प्रशासनले आन्तरिक राजस्व सेवा, पेन्टागन, संघीय उड्डयन प्रशासन लगायतका विभिन्न विभागहरूबाट हजारौँ कर्मचारी हटाइसकेको छ। विश्लेषकहरूले यो कदम मस्कले ट्विटर किनेपछि अपनाएको रणनीतिसँग मिल्दोजुल्दो रहेको बताएका छन्।

ट्रम्प प्रशासनको यो निर्णयले अमेरिकी संघीय संरचनामा व्यापक असर पार्ने संकेत देखिएको छ। कर्मचारी युनियन र ट्रम्प प्रशासनबीचको यो विवाद निकट भविष्यमै कानुनी लडाइँमा रूपान्तरण हुन सक्ने अनुमान गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0