पोखरा, १२ फागुन। ताप्लेजुङको पाथीभरा मन्दिर जाने बाटोमा केबलकार निर्माण रोक्न माग गर्दै भइरहेको आन्दोलन झन् चर्किएको छ। आन्दोलन नियन्त्रण गर्न स्थानीय प्रशासनले सदरमुकाम फुङलिङ क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रशासनका अनुसार पाँच जनाभन्दा बढी भेला भएर सभा, जुलुस तथा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ।

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आन्दोलनरत पक्षसँग छिट्टै वार्ता गरिने बताएका छन्। उनले ‘नो केबलकार’ भन्दै भइरहेको आन्दोलन र जबरजस्ती निर्माण गर्न खोज्ने दुवै धारणा सही नभएको भन्दै सहमतिको बाटो खोज्नुपर्ने धारणा राखेका छन्। आन्दोलनको क्रममा केही प्रदर्शनकारीले केबलकार समर्थक स्थानीयका घरमा मसालको राँको फ्याँकेपछि अवस्था थप संवेदनशील बनेको छ।

यसअघि गृह मन्त्रालयले वार्ता समिति गठन गरे पनि आन्दोलनरत पक्षले मन्त्रीस्तरीय वार्ता टोलीको माग गर्दै वार्ता अस्वीकार गरेको थियो। पाथीभरा केबलकार संयुक्त सङ्घर्ष समितिका संयोजक खगेन्द्र फेम्बूले अघिल्ला सहमति कार्यान्वयन नभएकाले कर्मचारीस्तरीय वार्तामा बस्न नचाहेको स्पष्ट पारेका छन्। उनले सरकार मन्त्रीस्तरीय वार्ता गर्न तयार नभएसम्म आन्दोलन जारी रहने बताए।

केबलकार विरोधी समूहले मन्दिरको ऐतिहासिकता तथा पहिचान गुम्ने चिन्ता व्यक्त गर्दै आन्दोलनलाई सशक्त बनाएको छ। उता, केबलकार समर्थकहरूले भने निर्माण कार्यले धार्मिक पर्यटनको प्रवर्द्धन गर्ने र जिल्लाको समग्र विकासमा टेवा पुग्ने तर्क गरिरहेका छन्।

यसैबीच, फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले अधिकांश स्थानीय केबलकारको पक्षमा रहेको दाबी गरेका छन्। उनले यदि सहमति नभएमा जनमत सङ्ग्रह गरिनुपर्ने प्रस्ताव अघि सारेका छन्। उनका अनुसार केबलकार मन्दिर नबिगारी निर्माण गरिने भएकाले यसले धार्मिक पर्यटक आकर्षित गर्नेछ।

स्थानीय प्रशासनले निषेधाज्ञा जारी भए पनि केबलकार निर्माण कार्य भने अहिलेसम्म रोकिएको छैन। तर, विरोध र समर्थनबीचको विवाद थप चर्किँदै जाँदा सरकारले समस्याको समाधान वार्ताबाट खोज्ने बताएको छ। आन्दोलनको चर्कोपन तथा निषेधाज्ञाको प्रभावबारे आगामी दिनमा कस्तो निर्णय हुन्छ भन्ने हेर्न बाँकी छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0