धनगढी, १५ फागुन। धनगढी उपमहानगरपालिकाले महिला मैत्री सहर परियोजना अन्तर्गत खुल्ला मञ्च क्षेत्रमा जेष्ठ नागरिक मिलन केन्द्र, चिल्ड्रेन पार्क, युवा लक्षित क्षेत्र, खानाका स्टलहरू, विश्राम स्थल तथा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ।
महानगरपालिकाले खुल्ला मञ्चको दक्षिणतर्फ अतिक्रमित जमिन खाली गराएर सो संरचनाहरू निर्माण गर्न लागेको हो। परियोजनाका लागि विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ भने चालु आर्थिक वर्षमै स्वीकृत गरी निर्माण कार्य थालिने भएको छ।
धनगढी उपमहानगरपालिका र महिला मैत्री सहर परियोजनाको संयुक्त लगानीमा निर्माण हुने यी संरचनाहरूका लागि २ करोड रुपैयाँ बजेट छुट्याइएको छ। परियोजनाले १ करोड ५० लाख लगानी गर्नेछ भने महानगरले ५० लाख रुपैयाँ विनियोजन गरेको छ। खुल्ला मञ्च व्यवस्थापनका लागि करिब ५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
डिभिजनल इन्जिनियर दिजराज भट्ट का अनुसार यो क्षेत्रलाई व्यवस्थित पार्न विद्युत् बत्ती जडान, सडक निर्माण तथा थप सुविधाहरू पनि निर्माण गरिनेछ। साथै, महिलाहरूको आर्थिक सशक्तीकरणका लागि खुल्ला मञ्च क्षेत्रमा रात्रिबजार सञ्चालन गर्न सकिने संरचना समेत बनाइनेछ।
चालु आर्थिक वर्षभित्रै खुल्ला मञ्च पछाडि बालबालिकाका लागि खेल्ने स्थल निर्माण गरिने छ। जेष्ठ नागरिक मिलन केन्द्र, खानाका अस्थायी स्टलहरू तथा अन्य संरचनाहरूको निर्माण पनि यसै वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
धनगढी उपमहानगरपालिकाले महिलाहरूलाई आयस्रोतसँग जोड्न शनिवारीय महिला उद्यम मेला सञ्चालन गर्दै आएको छ। अब खुल्ला मञ्च क्षेत्रमा समेत यस्ता गतिविधिहरूलाई प्रवर्द्धन गर्दै आर्थिक तथा सामाजिक विकासलाई गति दिने योजना रहेको छ।































