काठमाडौँ, २० फागुन। उपराष्ट्रपति रामसहायप्रसाद यादवले वन क्षेत्रमा उद्यमशीलता विकास गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल वन प्राविधिक सङ्घ (एनएफए) को स्वर्ण महोत्सव समारोहमा बोल्दै उनले वनबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न वन उद्यमको विकासमा जोड दिनुपर्ने बताए।
उपराष्ट्रपति यादवले नेपालको वन संरक्षण र दिगो उपयोगमा वन प्रविधिको भूमिका रहेको उल्लेख गर्दै थप वन क्षेत्रको विकासका लागि अझै अगाडि बढ्नुपर्ने बताए। जलवायु परिवर्तनको प्रभाव, वनजन्य स्रोतको दिगो उपयोग र पारिस्थितिकीय प्रणालीको संरक्षणमा सङ्घको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो। उनले वन क्षेत्रको संरक्षण, सम्वर्धन र दिगो व्यवस्थापनका लागि समन्वय जरुरी रहेको बताए।
वन तथा वातावरण संरक्षणसम्बन्धी जनताको चेतना बढाई वातावरणमा पर्न सक्ने क्षतिको असर न्यूनीकरण गर्न जैविक विविधताको संरक्षण गर्नुपर्ने उपराष्ट्रपति यादवको भनाइ थियो। उनले तराई मधेशमा पानीको मुहान सुक्दै गएकाले यसले मरुभूमिमा परिणत हुन सक्ने भन्दै सङ्घले आवश्यक योजना बनाउन सरकारलाई सुझाव दिन जरुरी रहेको बताए। वन तथा वातावरण क्षेत्रको अध्ययन र अनुसन्धान गर्ने वन प्राविधिकको पेसागत सुरक्षा गर्दै एनएफएले सरोकारवालाबिच जैविक विविधता संरक्षण, जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रिय जगतमा उठाउन सरकारलाई सहयोग गर्नुपर्नेमा उनले जोड दिए।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रको विकास र संरक्षण तथा सम्वर्धन गर्दै वनबाट रोजगारी बढाउन वन प्राविधिकको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले मानव र वन्यजन्तुबिचको द्वन्द्व बढिरहेको र जलवायु परिवर्तनको असरसमेत बढिरहेकाले यी समस्या न्यूनीकरणका लागि सहकार्य जरुरी रहेको बताए। एनएफएका अध्यक्ष राकेश कर्णले वन क्षेत्रको संरक्षण र सम्वर्धन गर्दै दिगो उपयोग तथा वन प्राविधिकको पेसागत सुरक्षा कायम राख्न एनएफएको भूमिका रहने बताए।































