पोखरा, ८ चैत्र। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मेरिटोक्रेसी अर्थात् योग्यताका आधारमा नियुक्ति गर्ने नीति अपनाएको स्पष्ट पारेका छन्। उनले सरकारले कुनै पक्षपात नगरी योग्य व्यक्तिलाई उपयुक्त पदमा नियुक्त गर्ने गरेको दाबी गरे।
प्रतिनिधिसभामा भएको प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले सरकार असफल हुनुको कारण आफ्नै नियुक्तिहरू भएको हो भन्ने प्रश्न गरेका थिए। सोही प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारले ‘हाम्रो मान्छे होइन, राम्रो मान्छे खोज्ने नीति’ अवलम्बन गरेको बताए। उनले आफूले कुनै व्यक्तिलाई व्यक्तिगत कारणले नियुक्त गरेको प्रमाण दिन चुनौती समेत दिए।
सरकारी नियुक्तिमा नातावाद र पक्षपातको आरोप अस्वीकार गर्दै उनले नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति मेरिटका आधारमा गरिएको उदाहरण पेश गरे। साथै, यसअघिका गलत अभ्यास तोड्दै सरकारले योग्य व्यक्तिलाई अवसर दिने परिपाटी अघि बढाएको उनले उल्लेख गरे।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार आएपछि बुटवल–नारायणगढ सडक तथा मुग्लिन–पोखरा सडक आयोजनाहरूले तीव्रता पाएको दाबी गरे। सरकार जनताको आवश्यकताअनुसार पूर्वाधार विकास र प्रशासकीय नियुक्ति गर्दै अगाडि बढिरहेको उनको भनाइ छ।





























