पोखरा, २१ चैत्र। मधेसका जिल्लाहरूमा हाल वासन्ती छठ पर्वको उल्लास छाएको छ। श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने यो पर्व मिथिलाका गाउँबस्तीमा भक्तिमय वातावरण सिर्जना गर्दै अघि बढिरहेको छ। व्रतालुहरूले पञ्चमीका दिन खरना विधि पूरा गरी निलाहार व्रत थालेका छन्।

आज साँझ भक्तजनहरू पवित्र जलाशयका घाटहरूमा भेला भएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गर्दैछन्। विशेष रूपमा सजाइएका घाटहरूमा मिष्टान्न परिकार चढाउँदै व्रतालुहरूले श्रद्धाका साथ सूर्य उपासना गर्ने परम्परा छ। यस विधिलाई मिथिला भाषामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ।

भोलि सप्तमी तिथिको बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि वासन्ती छठ पर्व विधिवत् समापन हुनेछ। यसअघि मङ्गलबार व्रतालुहरूले ‘नहाय–खाय’ विधिबाट पर्व प्रारम्भ गरेका थिए भने बुधबार खरना विधि सम्पन्न गरेका थिए।

नेपालभर लोकप्रिय बन्दै गएको छठ पर्व मिथिला संस्कृतिको अभिन्न पहिचान हो। वर्षमा दुईपटक मनाइने छठमा सूर्यदेव र षष्ठीदेवीको उपासना गरिन्छ। जनविश्वास अनुसार यो व्रतको प्रभावले मनोकाङ्क्षा पूरा हुने मान्यता रहिआएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0