पोखरा, २३ चैत्र। होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि वैशाख १ गतेसम्म पोखरा लेकसाइडमा आयोजना हुने २०औं फेवा नव वर्ष महोत्सवमा काठमाडौंवासीलाई सहभागी हुन आग्रह गरेको छ। होटल संघ नेपाल र होटल संघ पोखरा नेपालले संयुक्तरुपमा काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत आमन्त्रणा गरिएको हो।
कार्यक्रममा बोल्दै होटल संघ नेपालका केन्द्रिय अध्यक्ष विनायक शाहले फेवा महोत्सव पोखराको एक परिचित र स्थापित कार्यक्रमका रूपमा विकास भइसकेको उल्लेख गर्दै यसले शहरलाई चयायमान बनाउने काम गरेको बताए। उनले पोखरालाई लक्षित गरी घोषित ‘भिजिट पोखरा २०२५’ अभियान अन्तर्गत २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा महोत्सवले ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरे। साथै, चीनका विभिन्न शहरहरूसँग पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क र सडक सञ्जालमा भइरहेको सुधारले पर्यटन प्रवर्द्धनमा थप बल पुग्ने धारणा राखे।
संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै यसपटकको फेवा महोत्सव पर्यटन, संस्कृति र खानाको रंगीन संगम हुने बताए। उनले महोत्सवमा आउने पाहुनालाई होटलमा २० प्रतिशत छुट प्रदान गरिने जानकारीसमेत दिए।
नेपाल पर्यटन बोर्ड गण्डकी कार्यालय प्रमुख मणिराज लामिछानेले पोखरालाई ‘भाइब्रेन्ट सिटी’को रूपमा विकास गर्न महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। उनले हालै शुरु भएका चीन–पोखरा उडानलाई पर्यटन विकासको सन्दर्भमा सकारात्मक पाटो भने।
महोत्सवका संयोजक लक्ष्मण सुवेदीले खहरेदेखि ड्यामसाइडसम्मको सडक खण्डमा निःशुल्क प्रवेशसहित महोत्सव आयोजना गरिने जानकारी दिए। नेपाली संस्कृति संरक्षण, पर्यटन प्रवर्द्धन र पर्यटकको बसाइ अवधि लम्ब्याउने महोत्सवको प्रमुख उद्देश्य रहेको उनले स्पष्ट पारे।
संघका सहसंयोजक दीपक श्रेष्ठले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै महोत्सवप्रति सबैको सहयोगको अपेक्षा गरे। द्वितीय उपाध्यक्ष गणेशराज पहारीले महोत्सवमा मौलिक परम्परागत खानाको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक खेलकुद, पर्यटक दौड, पप कन्सर्ट, लोक दोहोरी कार्यक्रम तथा कृषि र हस्तकला सामग्रीको प्रदर्शनी समेत रहने जानकारी दिए।





























