पोखरा, १९ वैशाख। पोखरामा जारी ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १४ दिनसम्म श्रीमद्भागवत कथा सुनाएकी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचिका देवी प्रतिभालाई सम्मानपूर्वक बिदाई गरिएको छ। उनको बिदाईको क्षण निकै भावुक बन्यो, कोटीहोम स्थल छोरीको विवाह घरसरहको वातावरणमा परिवर्तन भएको थियो।

कथा वाचनको अन्तिम दिन देवी प्रतिभाले उपस्थित भक्तजनलाई ‘मैले सुनाएका कथाले तपाईंहरू प्रशन्न हुनुभयो?’ भनी सोध्दा हजारौँको स्वरले ‘हामी खुशी भयौँ, तपाईं अझै बस्नुहोस्’ भनेर उत्तर दिएको दृश्य अझै ताजै छ। शुक्रबार बिहान उनी भारत प्रस्थान गर्दैछिन् भने आइतबारदेखि झारखण्डमा कथा वाचन गर्ने कार्यक्रम तय भइसकेको छ।

देवीको बिदाई समारोहमा कोटीहोमका संकल्पकर्ता विजय कृष्णमूर्तिको आँखाबाट आँशु बगिरहेको थियो। फूलैफूलले पूजा गर्दै उनले भावुक स्वरमा अभिनन्दन पत्र पढे तर भक्कानिएर पढ्नै नसक्ने अवस्थामा पुगे। ती क्षणमा कोटीहोम स्थल एकछिन मौन र भावुक बन्यो।

कोटीहोममा देवी प्रतिभासँगै पोखरा पुगेको उनको सम्पूर्ण टोलीलाई पनि आयोजक मानवसेवा फाउण्डेशनले सम्मानसहित बिदाई गर्‍यो। संयोजक लेखराज ढकालका अनुसार जेठ १० देखि १६ गतेसम्म देवी प्रतिभालाई पुनः पोखरा ल्याउने प्रयास भइरहेको छ।

उता, देवीको कथा सकिएसँगै शुक्रबारदेखि भारतका युवा दार्शनिक तथा लोकप्रिय कथा वाचक प्रशान्त कृष्ण परांकुशले रामकथा वाचनको नेतृत्व गर्नेछन्। कोटीहोमको कथा यात्रा अझै थप आध्यात्मिक ऊर्जाका साथ अघि बढ्दै गएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0